काठमाडौं । जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले माओवादी नेताबाटै भ्रष्टाचारीमाथिको कारबाही सुरु गरेको छ । चिनियाँ संगठित गिरोहसँग मिलेर सुन तस्करी गरेको आरोपमा पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरा पक्राउ परेका छन् । सुन तस्करी प्रकरणमै पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनमाथि पनि अनुसन्धान सुरु भएको छ ।
प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) प्रमुखमा मनोज केसी आएलगत्तै ढिसमिस पारिएको सुन तस्करी प्रकरणको उत्तखनन थालिएको हो । सीआईबीले तीन वर्षअघिको तस्करी प्रकरणमा महरालाई आइतबार पक्राउ गरेको हो । सीआईबीका अनुसार भन्सार ऐन र संगठित अपराधसम्बन्धी कसुरमा महरामाथि अनुसन्धान अघि बढाइएको छ ।
दुबईबाट विद्युतीय चुरोट (भेप) मा लुकाएर २०७९ पुस १० मा ल्याइएको करिब आठ करोड ५५ लाख २८ हजार बराबरको करिब नौ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएपछि छुटाउन पूर्वसभामुख महरा र उनका छोरा राहुल सक्रिय रूपमा खटिएका थिए । त्यतिबेला ७३ वटा बाकसमा राखेर ल्याइएको ७३० थान भेप शंकास्पद देखिएपछि विमानस्थल भन्सारले नियन्त्रणमा लिएको थियो । भेप लिएर आएका भरिया ली हसङ तत्कालै फरार भएका थिए । पछि भेप सुन छुटाउन चिनियाँ तस्कर दावाजिन वाङले पूर्वसभामुख महरा र उनका छोरा राहुलको सहयोग लिएका थिए । महराले पनि प्रहरीसमक्ष यो कुरा स्वीकार गरिसकेका छन् ।
सुन छुटाउन पहल गर्ने क्रममा महरा बाबुछोराले २ सय ५६ पटक फोन सम्पर्क गरेको खुलेको थियो । भन्सार गोदामबाटै भेप चोरी भएपछि मात्रै सुन तस्करीको रहस्य खुलेको थियो । त्यस प्रकरणमा भन्सारका कर्मचारी र एजेन्टविरुद्ध सुरुमा मुद्दा दायर भएकामा पछि २४ असोज २०८० मा राहुल महराविरुद्ध पूरक मुद्दा अदालतमा लगिएको थियो ।
पूर्वसभामुख महरालाई २०८० चैत ५ मा कपिलवस्तुबाट पक्राउ गरी काठमाडौं ल्याएर अनुसन्धान अघि बढाइएको थियो । तर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ‘स्वास्थ्यको कारण’ देखाउँदै महरालाई ‘हाजिरी जमानी’ मा छाडेको थियो । त्यसपछि सीआईबीमा यो विषय थन्किएको थियो । सरकारले पनि अनुसन्धानमा चासो दिएको थिएन ।
यस्तै, दुईपटक उपराष्ट्रपति भइसकेका माओवादी नेता पुन र उनका दुई छोरा जितेन्द्र र दीपेश तथा उनी उपराष्ट्रपति छँदा वैदेशिक मामिला विज्ञका रूपमा नियुक्त जीवन गुरुङविरुद्ध पनि सीआईबीले अनुसन्धान अघि बढाएको छ । सुन तस्करी प्रकरणमा माओवादीका अर्का नेता वर्षमान पुन, ओनसरी घर्तीमगरलगायतको नाम पनि जोडिएको छ । अनुसन्धान पुनः सुरु गरिएकाले धेरै माओवादी नेता यसमा तानिने सम्भावना रहेको बताइन्छ ।














प्रतिक्रिया