काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई चिकित्सकहरूले केही दिन पूर्ण आराम गर्न सल्लाह दिएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनी महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार गराएर आइतबार डिस्चार्ज भएका थिए ।
डाक्टरहरूको सल्लाहअनुसार राष्ट्रपति पौडेल तत्कालका लागि सार्वजनिक कार्यक्रममा सहभागी नहुने भएका हुन् । राष्ट्रपति कार्यालयका अनुसार चिकित्सकहरूको सल्लाहबमोजिम सोमबारका लागि तय गरिएको जेनजीका प्रतिनिधिहरूसँगको छलफल कार्यक्रम स्थगित भएको छ ।
अन्तरिम सरकारमा मन्त्रीमण्डल विस्तार र आफ्ना मागहरू पूरा नभएको विषयमा छलफल गर्न जेनजीका प्रतिनिधिमण्डलले राष्ट्रपति पौडेलसँग भेट्ने कार्यक्रम थियो ।
गत शनिबार नै यो वार्ता तय भएको थियो, तर राष्ट्रपति पौडेलको आकस्मिक स्वास्थ्य समस्याका कारण त्यो दिन भेटघाट हुन सकेको थिएन । त्यसैले उक्त छलफल आजका लागि सारिएको थियो । राष्ट्रपतिको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै यो कार्यक्रम पुनः स्थगित गरिएको हो ।
स्रोतका अनुसार असली जेनजीका प्रतिनिधि छुट्याउन राष्ट्रपति कार्यालयलाई पनि सकस भएको छ । सोही कारण पौडेलले वार्तामा अनिच्छा देखाएको बताइन्छ । सरकारमा कसलाई मन्त्री बनाउने नबनाउने भन्ने प्रधानमन्त्रीको हातमा रहन्छ । संवैधानिक राष्ट्रपति भएकाले उनी कार्यकारी होइनन् । तर पनि जेनजीले राष्ट्रपतिसँग मात्रै वार्ता गर्ने अडान लिएका छन् ।














प्रतिक्रिया