चौतर्फी दबाबपछि गंगा दाहालले छाडिन् प्रचण्डको निजी सचिवालय


कठमाडौं – माओवादी संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालले प्रचण्डको सचिवालयबाट राजीनामा दिएकी छन् । सोमबार उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सचिवालयबाट राजीनामा दिएके घोषणा गरेकी हुन् । आफूलाई देखाएर पार्टी र बुबा प्रचण्डमाथि निरन्तर प्रहार भइरहेकाले राजीनामा दिएको उनले घोषणा गरेकी छन् ।

आफूले राजीनामा दिएपछि बुबा, माओवादी आन्दोलन र पार्टीलाई राम्रै हुने उनले विश्वास पनि व्यक्त गरेकी छन् । ‘दुःख लाग्छ, यो ठाउँ नै त्यस्तै हो कि जति राम्रो गर्छु भन्ने गर्छु, जति नै विवादरहित भएर काम गर्छु भन्ने गर्छु, विवादमा त परिहालिने रहेछ । कहिले कति लाखको ब्याग भनिदिन्छन्, कहिले कति लाखको घडी । एक लाख पर्ने घडी वा ब्याग जिन्दगीमा कहिल्यै किनेको छैन । साथीभाइले जन्मदिनको अवसरमा दिएको उपहार थियो, सक्कली थियो कि नक्कली, त्यो पनि जलेर खरानी भइसकेको छ । अझै पनि त्यही कुरा ल्याएर प्रहार भइराखेको छ ।

निरन्तर मलाई देखाएर माओवादी संयोजक प्रचण्ड र समग्र पार्टीविरुद्ध योजनाबद्ध प्रहार भइरहेका कारण यस्तो अवस्थामा मैले सचिवालयको जिम्मेवारीबाट बाहिरिँदा नै बुबा, पार्टी र आन्दोलनका लागि राम्रो होला भन्ने निष्कर्षमा पुगेर बुबाको सचिवालयबाट राजीनामा दिएको छु,’ गंगाले भनेकी छन् ।