इजरायलमा मारिएका विपिन जोशीको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि


इजरायलमा मारिएका कञ्चनपुरका विपिन जोशीको आज महाकाली नदी किनारको भुजेलाघाटमा राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ। सशस्त्र प्रहरीले उनलाई सलामी अर्पण गरेको थियो।

उनको शव इजरायलबाट सोमबार काठमाडौं ल्याइएर सेनाको स्काइ ट्रकमार्फत धनगढी हुँदै भीमदत्तनगरस्थित घर पुर्‍याइएको थियो। शव परिवारलाई हस्तान्तरण गर्न नेपालस्थित इजरायली दूतावासका अधिकारी समेत पुगेका थिए।

दुई वर्षअघि सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत अध्ययनका लागि इजरायल गएका विपिन सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणमा परेका थिए। लामो समयदेखि बेपत्ता रहेका उनी सोही वर्ष हत्या भएको इजरायलले पुष्टि गरेको हो।

फरेन्सिक रिपोर्टअनुसार उनको टाउकोमा गोली लागेर मृत्यु भएको उल्लेख छ। तिहारको बेला शव घर आइपुग्दा जोशी परिवार शोकमा डुबेको छ।