काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले सभापतिमा रवि लामिछानेको विकल्प नखोज्ने भएको छ । चितवनको सौराहामा शुक्रबारदेखि सुरु भएको विस्तारित बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै कार्यबाहक सभापति डिपी अर्यालले यस्तो धारणा प्रस्तुत गरेका हुन् ।
अर्यालले चर्चित व्यक्ति भित्र्याउने नाममा पार्टीमा नेतृत्वको आयात गर्न नसकिने धारणा अघि सारेका हुन् । कुलमान घिसिङलगायतका व्यक्तिहरुलाई जोडेर लैजाने विषयमा पटक पटक आन्तरिक छलफल भइरहेको सन्दर्भमा मूल नेतृत्वको रूपमा त्यस्ता व्यक्ति ल्याउन नसकिने भन्दै रास्वपाले यसबारे च्याप्टर क्लोज गरेको हो ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेन र ऊर्जामन्त्री कुलमान घिसिङलगायतलाई स्वागतका लागि तयार अर्यालले बताएका छन् । ‘पार्टी स्थापना गर्दा अहिले नाम आएका व्यक्तिहरूलाई सबैजना सँगै जाऊँ भनेर कुरा गर्दाको साक्षी म आफैँ हो। त्यसबेला उहाँहरू मान्नु भएन । अहिले पनि उहाँहरुलाई स्वागत गर्न तयार छौँ’, उनले भने, ‘उहाँहरूले रास्वपाको स्थान र पहिचान बुझ्नु भएकै छ । पार्टी बनाउने चाहनालाई स्वागत छ। तर प्रचार मात्रै गर्ने नियतको हामी प्रतिवाद गर्छौं,’ उनले भनेका छन् ।
कार्यबाहक सभापति अर्यालको प्रतिवेदनले अब रास्वपा चुनावमा एक्लै जाने छ । कुनै पार्टी वा समूहसँग कार्यगत एकता गरे पनि मूल नेतृत्व नै आयात नगर्ने भएको छ । ‘पार्टी रिफर्म’ गर्नुपर्छ र पार्टीमा चर्चित व्यक्तिरव्यक्तित्वलाई भित्र्याउने वातावरण बनाउनुपर्छ भन्ने जायज कुरामा सतप्रतिशत सहमत हुँदाहुँदै पनि रिफर्म वा स्वागतको बहानामा मूल नेतृत्व नै आयात गर्नुपर्ने अघोषित नीति र त्यहीअनुसारको प्रचारबाजी चाहिँ स्वीकार्य हुन सक्दैन,’ उनले प्रतिवेदनमा भनेका छन् । अर्यालले अहिलेको नेतृत्वलाई विस्थापित नभई स्थापित गरेर जानुपर्ने उल्लेख गरेका छन् ।
अर्यालले पार्टी रिफर्मको आवाज र यथार्थ शीर्षकमा छुट्टै बुँदा नै राजनीतिक प्रतिवेदनमा राखेका र नेतृत्वको निरन्तरताको बारेमा प्रस्ताव गरेका छन् । ‘चौतर्फीरूपमा योजनावद्ध तरिकाले मूलमूल नेतृत्वमा प्रहार गरी पार्टीलाई नै सकाइदिने योजनालाई बुझ्न सकेनौं भने हामीले पनि हार्छौं र जनतालाई पनि हराउँछौं । त्यसैले अहिले नेतृत्वहरूलाई विस्थापति होइन, स्थापित गर्ने समय हो,’ अर्यालले भनेका छन् ।














प्रतिक्रिया