पशुपति विद्युतीय शवगृह मेसिन खरिद प्रकरणमा विशेष अदालतमा सुनुवाइ जारी


काठमाडौं – पशुपति क्षेत्र विकास कोषले विद्युतीय शवदाह गृहका उपकरण खरिदमा गरेको भनिएको भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतमा सुनुवाइ जारी छ।

विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको इजलासमा उक्त मुद्दाको सुनुवाइ भइरहेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शवदाह गृहका लागि दुईवटा उपकरण खरिदमा अनियमितता भएको ठहर गर्दै गत असार ८ गते कोषका सदस्यसचिव मिलनकुमार थापा, तत्कालीन निमित्त सदस्यसचिव राजुकुमार खत्री सहित १६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो।

थापा यसअघि १ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए। अभियुक्तहरूविरुद्ध आयोगले १० करोड ३३ लाख ९१ हजार ३० रुपैयाँ बिगो मागदाबी गरेको छ।

उपकरण आपूर्तिकर्ता म्याप इन्टरप्रेनर प्रालिका सञ्चालक मनोज पुरी र यदुनन्दन भट्टराईविरुद्ध संयुक्त रूपमा विगो कायम गरी कैद र जरिवाना माग गरिएको छ।
त्यस्तै, आपूर्तिकर्ता एप्पल इन्जिनियरिङ प्रोफेसनल कन्सल्टेन्सी र त्यसका प्रबन्ध निर्देशक सुरज चापागाईंविरुद्ध पनि बिगोअनुसारकै जरिवाना र कैद सजाय मागदाबी गरिएको छ।

अभियोजनपत्रका अनुसार, ३२ लाख ५० हजार भारतीय रुपैयाँ पर्ने शवदाह मेसिनलाई बढी देखाइ मिलेमतोमा भ्रष्टाचार गरिएको आरोप लगाइएको छ।