जेनजी आन्दोलनपछि ४४८ प्रहरी युनिट सञ्चालनमा, ९ हजारभन्दा बढी कैदी फिर्ता


काठमाडौँ – जेनजी आन्दोलनका क्रममा भदौ २४ गते नेपाल प्रहरीका विभिन्न युनिटमा क्षति पुगेको थियो। हालसम्म ४४८ युनिट सञ्चालनमा फर्किसकेको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा प्रस्तुत गरेको विवरणअनुसार, क्षति पुगेका १० जिल्ला प्रशासन कार्यालय र ४ इलाका प्रशासन कार्यालयको सेवा सुचारु भएको छ।

गृहमन्त्री अर्यालले करिब २ महिनाभित्र शान्ति सुरक्षा सामान्य अवस्थामा ल्याउन सफल भएको बताए। आपराधिक कार्यमा संलग्न ४२९ जनालाई पक्राउ गरिएको छ र हालसम्म १६८ वटा मुद्दा दर्ता भइसकेको जानकारी दिइयो।

उनका अनुसार, भदौ २३–२४ का घटनापछि लुटिएका/हराएका सुरक्षाकर्मीका हतियारमध्ये ७१८ थान फिर्ता भइसकेको छ। बाँकी हतियार फिर्ता ल्याउन सुरक्षा निकायहरूले संयुक्त अपरेसन जारी राखेको छ।

साथै, देशका विभिन्न कारागारबाट फरार भएका १४,५५४ कैदीमध्ये ९,५४१ जनालाई फिर्ता ल्याइएको छ र ५,०१३ जना अझै खोजीमा छन्।

गृहमन्त्री अर्यालले आगामी फागुन २१ मा निर्वाचन सम्पन्न गर्नु वर्तमान सरकारको प्राथमिक जिम्मेवारी भएको र समयमै निर्वाचन गरेर जनताबाट निर्वाचित प्रतिनिधिलाई जिम्मा सुम्पन आतुर रहेको बताएका छन्।