काठमाडौं । एमालेले शुक्रबार नेसनल भोलियन्टर्स फोर्स घोषणा गर्दै छ । पोलिटब्युरो सदस्य महेश बस्नेतको संयोजकत्वमा घोषणा हुन लागेको फोर्सबारे शीर्ष नेताहरूले नै प्रश्न उठाएका छन् ।
एमालेको जनसंगठन समन्वय संयन्त्रले मार्च पाससहित उक्त नयाँ संगठन आज गठन गर्दैछ। अध्यक्ष केपी ओलीले औपचारिक रूपमा फोर्स घोषणा गर्नेछन्। संगठनलाई पार्टीको उच्च नेतृत्वले सीधै परिचालन गर्न सक्ने गरी बनाउन लागिएको जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालले बताएका छन्। उनका अनुसार यो आवधिक अधिवेशनबाट छानिने संरचना होइन। कामको मूल्यांकनका आधारमा नेतृत्व चयन हुनेछ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सात घन्टा बढी बसेको सचिवालय बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, विष्णु पौडेल सचिवहरू गोकर्ण विष्ट, योगेश भट्टराईले भोलेन्टियर्स फोर्स घोषणाप्रति प्रश्न उठाएका हुन् ।
यस्ता संरचनाले लोकतन्त्र, लोकतन्त्रप्रति पार्टीको प्रतिबद्धता र इमानदारीलाई कमजोर बनाउने भन्दै यस्ता गतिविधि रोक्न उनीहरूले माग गरेका थिए। ‘यस्तो संरचना र गतिविधिले लोकतन्त्र र पार्टीलाई फाइदा पुग्दैन,’ उपाध्यक्ष विष्णु पौडेलले भनेका थिए, ‘यसले अनावश्यक द्वन्द्व र झैझगडालाई प्रश्रय दिन्छ।’
उपाध्यक्ष पौडेलले प्राकृतिक एवं मानवीय विपत्तिका बेला स्वयम्सेवी संगठन, संरचना बनाउने गरेको भए पनि अहिले आवश्यक नरहेको आसय व्यक्त गरेका थिए।














प्रतिक्रिया