महेश बस्नेत जता जान्छन् त्यतै विरोध, सुर्खेतमा प्रदर्शन


काठमाडौं – एमाले नेता महेश बस्नेत जेनजी युवाहरूको टार्गेटमा परेका छन् । उनी जता जान्छन्, त्यहीँ प्रदर्शन र नाराबाजी हुने गरेको छ ।

केही दिनअघि बाराको सिमरामा युवा संघको कार्यक्रममा जान लागेका बस्नेतविरुद्ध व्यापक प्रदर्शन भएको थियो । जसकारण सिमरामा ठूलो तनाव भयो । पछि बस्नेत गएनन् । त्यसपछि उनी सुनसरीमा आयोजना हुन लागेको युवा संघमा पुगे । विराटनगरमा उनलाई नेविसंघका नेताले रातो मसी छ्याप्ने प्रयास गरे । युवाहरुले प्रदर्शन गरे ।

मंगलबार सुर्खेतको वीरेन्द्रनगरमा बस्नेतविरुद्ध युवाहरूको एक समूहले प्रदर्शन गरेको छ । सहभागीहरूले बस्नेतविरुद्ध प्लेकार्डसहित प्रदर्शन गरेका हुन् । बस्नेत आज बिहान मात्रै सुर्खेत आएका थिए ।

युवा संघको आयोजनामा वीरेन्द्रनगरस्थित जिल्ला समन्वय समितिको सभाहलमा मंगलबार कार्यक्रम तय गरिएको संगठनले जनाएको छ । बस्नेत सुर्खेत आएसँगै वीरेन्द्रनगरमा सुरक्षा व्यवस्था निकै कडा गरिएको छ।

बस्नेतकै कारण एमाले अध्यक्ष केपी ओलीले अहिले ठूलो स्वरले बोल्न थालेको भन्दै जेनजी रिसाएका हुन् । बस्नेतले आफ्नो विरोध गरेर केही नहुने भन्दै चुनौती दिँदै आएका छन् । उनले ओलीलाई गुण्डुमा ल्याएर राखेको विषयले टार्गेटमा परेको हो ।