विशेष महाधिवेशन पक्षधर राष्ट्रिय सभागृहमा, सबैको एउटै आवाज महाधिवेशन र गगन थापा


काठमाडौं – नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधरको भेला भृकुटीमण्डपमा सुरु भएको छ । कांग्रेसका पुराना नेता ओमकारप्रसाद श्रेष्ठको सभापतित्वमा भेला सुरु भएको हो । श्रेष्ठ २०१४ सालको कांग्रेस पहिलो विशेष महाधिवेशनमा सहभागी नेता हुन् ।

जेनजी आन्दोलनपछि विकसित परिस्थितिमा कांग्रेसका २४८८ अर्थात् ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै गत असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएका थिए। अहिलेसम्म यस विषयमा केही प्रक्रिया अघि बढेको छैन । कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पनि विशेष महाधिवेशनबारे कुनै निर्णय गरेको छैन ।

यसअघि मंसिर ३ गते पत्रकार सम्मेलन गरेर विशेष महाधिवेशन पक्षधरका नेताहरूले विशेष महाधिवेशन आयोजना मिति र स्थान तोक्न माग गरेका थिए । महाधिवेशनबारे निर्णय लिन बिहीबार दिउँसो सानेपामा कांग्रेस केन्द्रीय समिति बैठक पनि बस्दैछ।

भेलामा सहभागी नेता कार्यकर्ताहरूले विशेष महाधिवेशनको विकल्प नभएको बताएका छन् । आगामी चुनावमा पुराना अनुहार लिएर जान नसकिने भन्दै नेतृत्व परिवर्तन हुनुपर्नेमा जोड दिए । ‘अबको विकल्प भनेको गगन थापा हो । विशेष महाधिवेशनको विकल्प पनि छैन । गगन थापको विकल्प पनि छैन,’ गोरखाका महाधिवेशन प्रतिनिधि गोविन्द गुरुङले भने ।

अछामका पुष्प शर्मा भने चुनावमा जान कांग्रेसलाई नयाँ नेतृत्व चाहिएको तर्क गर्छन् । विशेष महाधिवेशन शतप्रतिशत हुने हुनको भनाइ छ । ‘ब्याकडेट होइन । नेतृत्व, नयाँ चालक चाहिन्छ । पुराना अनुहार लिएर चुनावमा जान्छ सकिँदन,’ उनले भने, ‘विशेष महाधिवेशन एक हुन्छ, दुई हुन्छ, १०० प्रतिशत हुन्छ ।’ गगन थापालाई समयले चाहेको उनको भनाइ छ ।

पुसभित्रै नियमित महाधिवेशन नभए विशेष महाधिवेशनमा जानुपर्ने धारणा कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले राख्दै आएका छन् । थापाले त कांग्रेस केन्द्रीय समिति बैठकमै अब नियमित महाधिवेशनको च्याप्टर क्लोज भएकाले विशेष महाधिवेशन हुने घोषणा नै गरेका छन् । तर कांग्रेसमा सभापति शेरबहादुर देउवा पक्ष चुनावअघि नियमित वा विशेष महाधिवेशन दुवै नगर्ने अडानमा छ । संस्थापन पक्षका नेताले विशेष महाधिवेशनलाई गियर नभएको गाडीका रूपमा चर्चा गरेका छन् ।