काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकार जेनजीबीचको सम्झौताको स्वागत गरेका छन् । सरकार र जेनजीबीचको १० बुँदे सम्झौतालाई प्रमुख दलहरूले अहिलेसम्म औपचारिक रूपमा स्वागत गरेका छैनन् । कांग्रेसले पनि गरेको छैन । तर महामन्त्री शर्माले भने स्वागत गरेका छन् ।
शर्माले सरकार र जेनजीबीच सहमति गर्दा दलहरुलाई सहभागी नगराएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । सहमतिको स्वागत गर्दै उनले लोकतन्त्रको मुख्य सारथी दलहरुलाई सहभागी नगराएर सरकार चुकेको बताएका छन् । ‘राजनैतिक दलहरू लोकतन्त्रको मुख्य र अविच्छिन्न सारथी हुन् भन्ने तथ्य हेक्का राखेर सरकारले सहमतिको हस्ताक्षर गरिरहँदा दलहरूलाई स्वामित्व र अपनत्वमा गाँस्न सक्नुपर्दथ्यो ।
त्यसो गरेर भोलिका लागि भरपर्दो बनाउन सरकार नचुक्नुपर्थ्यो‘,’ उनले भनेका छन् । शर्माले अब दस्तावेजको प्रारम्भिक कार्यान्वयन क्रममा सरकारलाई यस विषयमा गम्भीर हुन सुझाव पनि दिएका छन् । सहमति कार्यान्वयनमा अत्यावश्यक समय लगाइरहँदा फागुन २१ को निर्वाचनको मिति बाधक हुन नहुने बताएका छन् । ‘अब दस्तावेजको प्रारम्भिक कार्यान्वयन क्रममा सरकारले यसमा गम्भीरता राख्न जरुरी छ ।
कार्यान्वयनमा अत्यावश्यक समय लगाइरहँदा फागुन २१ को मिति बाधक बन्नुहुन्न,’ उनले भनेका छन् । शर्माले जेनजी समूहहरुलाई अपनत्वमा गाँस्न, विश्वसनीय चुनावी वातावरण विकसित गर्न र हिमाली क्षेत्रलाई समेत सहज बनाउन निर्वाचन वैशाखसम्म पुगे त्यसलाई स्वभाविक रुपमै स्वीकार गर्नुपर्ने बताएका छन् । एमाले अध्यक्ष केपी ओलीले भने बिहीबार सरकारले जेनजीसँग गरेको सहमतिको कडा रुपमा आलोचना गरेका थिए ।














प्रतिक्रिया