धुर्मुस सुन्तली सपरिवार अमेकिार पुगे, ‘एक्स्ट्रा अर्डिनरी ग्रिनकार्ड’ लिएको खुलासा


काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अलपत्र परेपछि विवादमा तानिएका हाँस्यकलाकार सीताराम कट्टेल (धुर्मुस) सपरिवार अमेरिका पुगेका छन् । धुर्मुसले सामाजिक सञ्जालमा ३९६२ शब्द लामो बकपत्र जारी गर्दै छोरीको उपचारका लागि केही दिनअघि अमेरिका पुगेको जानकारी दिएका छन् । उनले जारी गरेको बकपत्रमा भरतपुरमा क्रिकेट रंगशाला निर्माणको आंकाक्षादेखि सहयोग संकलन र निर्माण अलपत्र पर्दासम्मका कुरा समेटेका छन् ।

नेपालमा कलाकारिता पनि गर्न नसक्दा र बाँच्न सक्ने कुनै आधार नभेटेपछि तीन वर्षअघि अमेरिकाको ‘एक्स्ट्रा अर्डिनरी ग्रिनकार्ड’ का लागि आवेदन दिएको र पाएपछि सपरिवार गएको उनले खुलासा गरेका छन् । नेपालमा रहँदा छोरीको उपचार गर्न आर्थिक हैसियतले नभ्याउने र अमेरिकामा कम आम्दानी भएकाका लागि उपचारमा सुविधा हुने भएकाले छोरीको स्वास्थ्यका लागि ग्रिनकार्ड एप्लाइ गरेको उनले बताएका छन्। धुर्मुसले पहिलोपटक आफ्नी १३ वर्षीया छोरी सुविहानीको गम्भीर स्वास्थ्य समस्याबारे खुलेर कुरा गरेका छन्।

जन्मेको १६ दिनमै म्यानेन्जाइटीसको शिकार भएकी छोरीको दाहिने खुट्टाको हड्डीमा इन्फेक्सन भएको उनले बताएका छन्। यसअघि उनकी श्रीमती कुञ्जना घिमिरेले छोरी सुबिहानीको स्वास्थ्य स्थितिबारे सामाजिक सञ्जालमा सार्वजनिक गरेकी थिइन् । ‘हामीले तीन वर्षअघि अमेरिकाको ‘एक्स्ट्रा अर्डिनरी ग्रिनकार्ड’ का लागि आवेदन गरेका थियौं नेपालबाटै । यो विभिन्न विधाका असाधारण क्षमता भएकाहरुका लागि दिइने स्थायी बसोबास अनुमतीपत्र हो ।

यो कार्डमा आएपछि कम आम्दानी भएका बाबुआमाका बच्चाका लागि निःशुल्क उपचार सुविधा हुने रहेछ इन्सुरेन्स मेडिकेडमार्फत । यसअघि कुन्जनाको कोखमा रहेको हाम्रो दोस्रो बच्चा स्ट्रेसकै कारण खेर गएको थियो । भएकी एक मात्र सन्तानको हकमा हामीले कुनै जोखिम लिन चाहेनौं । उनको स्वास्थ्य र सुरक्षित भविष्यका लागि अमेरिकाको ‘एक्स्ट्रा अर्डिनरीमा’ एप्लाइ गर्ने निर्णय लिएका थियौं,’ उनले भनेका छन् । आवेदन दिएको दुई वर्षपछि भिसा पाएको उनले खुलाएका छन् । ‘आवेदन गरेको दुई वर्षपछि पोहोर साल हामीले भिसा पायौं । तर, भिसा हातमा परेको दिन हामी खुशी हुन सकेनौं, बरु भक्कानिएर रोयौं । कारण यो हाम्रो रहरको निर्णय थिएन ।

हामी परिस्थितिको दास बनेका थियौं । गत वर्ष हामी अमेरिका आयौं । अमेरिका आउने जाने खर्चको जोहो गर्न कुन्जनाले आफूसँग भएका सबै गरगहना बेचिन् । आएकै एक महिनामा म रंगशालाको कामले सिंहदरबार धाउन फर्किएँ,’ धुर्मुसले भनेका छन् । छोरीको ज्यान जोखिममा नपरोस भनेर समस्यालाई थाँती राखी अहिले अमेरिका पुगेको उनले बताएका छन् । ‘हामी भागेको होइन । छोरीको उपचार सम्पन्न भएपश्चात नेपाल फर्किनेमा कुनै सन्देह छैन ।

छोरीको उपचारपश्चात हामी नेपाल फर्किएर अब कलाकारितामै रम्न चाहन्छौं । तर, रंगशालाको उल्झनबाट मुक्ति नपाउँदासम्म हामीले नेपालमा न काम गरेर खान सक्ने, न चैनसित निदाउन सक्ने अवस्था रह्यो । हाम्रो यति चाहना छ, कि रंगशालाको समस्या समाधान भएर हामीले नेपालमै कलाकारिता गरेर बाँच्न सक्ने अवस्था बनोस्,’ उनले भनेका छन् ।