काठमाडौं । बुधबारदेखि दैनिक पाँच घण्टा आंशिक बन्द गरेर स्तरोन्नति भइरहेको नागढुंगा–मलेखु सडकखण्ड शुक्रबार र शनिबारका लागि खुला गरिएको छ । एमालेको ११औँ केन्द्रीय महाधिवेशन उद्घाटन सत्रलाई ध्यान दिँदै सो सडकमा आवतजावत नरोकिने भएको हो । नागढुंगा–मुग्लिन सडक आयोजनाले मंसिर २४ गतेबाट आंशिक बन्द गरेर काम गरिरहेको छ । दुई दिनका लागि बन्द सडक बन्द नगरिने आयोजनाले जनाएको छ ।
त्यसपछि भने कार्यतालिकाअनुसार तोकिएको समयमा सडक बन्द गरेर काम गरिने नागढुंगा–मुग्लिन सडक योजना पूर्वी खण्डका प्रमुख केशवप्रसाद ओझाले जानकारी दिए । ‘स्तरोन्नतिलाई तीव्रता दिन धादिङ र काठमाडौँको जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर मंसिर २४ गतेबाट पुस १ गतेसम्म बिहान १०ः३० देखि दिउँसो ३ः३० सम्म दैनिक पाँच घन्टा बन्द गरेर काम गरिरहेका थियौँ, एमालेको महाधिवेशनलाई ख्याल गर्दै सवारी चाप र सम्भावित सडक जामलाई मध्यनजर गरी सडक बन्द नगर्ने निर्णय लिएका छौँ,’ उनले भने ।
युवा संघका अध्यक्ष क्षितिज थेवेको टोलीले बुधबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङलाई भेटेर महाधिवेशनका लागि दुई दिन सडक खुला गरिदिन आग्रह गरेका थिए । सडक विभागले काठमाडौँ जिल्लाभित्र पर्ने नागढुंगा–पिप्लामोड खण्डको कालोपत्र गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ भने धादिङ जिल्लाभित्र पर्ने नौबिसे–मलेखु खण्डको बांगेभीरमा सडक चौडा गर्ने कामलाई महत्व दिएर काम अघि बढाएको छ ।














प्रतिक्रिया