काठमाडौं । नवनियुक्त चारजना मन्त्रीहरूले शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा शुक्रबार आयोजित समारोहबीच चार मन्त्रीहरूले शपथ लिएका हुन् । मन्त्री हुनेहरूमा श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नाम छन् । उनीहरूलाई प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा आजै राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका हुन् ।
नवनियुक्त चार मन्त्रीहरूमध्ये श्रद्धालाई महिला तथा बालबालिका, चौलागाईं वन, भण्डारीलाई श्रम र इङ्नाम भूमि मन्त्रालयको जिम्मेवारी दिइएको छ । श्रद्धा श्रेष्ठ भ्रष्टाचारको मुद्दा खेपेकी व्यक्ति हुन् । उनी नेपाल पर्यटन बोर्डकी वरिष्ठ प्रबन्धक हुन् । काठमाडौंकी श्रेष्ठ पर्यटन बोर्डमा २४ वर्षदेखि कार्यरत छिन् । उनले अमेरिकाको मिसिगन स्टेट युनिभर्सिटीबाट आर्थिक विकास अध्ययन गरेकी छिन् । उनी फुलब्राइट फेलो पनि हुन् ।
पर्यटन बोर्डको भ्रष्टाचारमा संलग्न २३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७१ चैत २० गत विशेष अदालतमा मुद्दा दायर गरेको थियो । जसमा श्रेष्ठको नाम आरोपीमा उल्लेख थियो । श्रेष्ठसँगै विमल शर्मा कँडेल, समिर बज्राचार्य, जितेन्द्र भट्टराई, नम्रता श्रेष्ठ, सूर्य थपलिया, सुमन घिमिरे, रोहिणी प्रसाद खनाल, दीपकराज जोशी, सुदन सुवेदी, सन्तोष विक्रम थापा, लेखनाथ भुसाल, प्रदीप बस्नेत भ्रष्टाचार आरोपीको सूचीमा परेका थिए । उनीहरुविरुद्ध अख्तियारले ६९ करोड रुपैयाँ विगोसहित मुद्दा दायर गरेको थियो ।














प्रतिक्रिया