काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछाने छुटाउन सरकारसँग निरन्तर आग्रह गर्दै आएको छ । पार्टीगत र नेताहरूले व्यक्तिगत रूपमा रवि छुटाउन पहल गर्दै आएका छन् । रास्वपा उपसभापति स्वर्णिम वाग्लेले लामिछानेलाई जेलबाट छुटाउन प्रधानमन्त्री सुशीला कार्कीसँग आग्रह गरेको जानकारी दिएका छन् ।
फागुन २१ को निर्वाचनअघि नै रवि छुट्ने उनको आशा छ । शनिबार बेलुका दाङको तुलसीपुरमा आयोजित नगर भेलालाई सम्बोधन गर्दै वाग्लेले आगामी निर्वाचनमा लामिछाने आफूहरूसँगै चुनावी प्रचारमा हिँड्ने बताए। ‘रवि लामिछानेलाई पन्छाइयो भने राष्ट्रिय स्वतन्त्र पार्टीलाई अलि सुस्त बनाउन सकिन्छ भन्ने खराब मनसायले जुन अधिक अभियोजन गरिएको छ, त्यसमा सच्याइदिनुहोस्, प्रतिशोधको राजनीति अन्त्य भएको नेपाली जनताले देख्न पाउनुपर्छ भनेर हामीले प्रधानमन्त्रीज्यूलाई आग्रह गरेका छौं,’ वाग्लेले भने, ‘सम्माननीय न्यायमूर्ति रहिसक्नु भएका सुशीला कार्कीबाट यसलाई सच्याउने पहल होला भन्ने हामीले अपेक्षा गरेका छौं।’
रास्वपाले चुनाव जित्ला भनेर नै सभापति लामिछानेलाई सास्ती दिइएको वाग्लेले दाबी गरे। ‘हामीले न्यायालयको प्रक्रियामा त्यति भाँजो हाल्न वा दख्खल दिन चाहेका छैनौं। न्यायालयप्रति अझै आशा र भरोसा छ। तर अधिक अभियोजन भयो है भनेर सचेत गराउँदै आएका छौं,’ वाग्लेले भने, ‘उहाँविरूद्ध अधिक अभियोजन भयो, सहकारी ठगीसम्मको मुद्दालाई हेर्न सकिन्थ्यो।’ तर सरकारले भने अहिलेसम्म रविको मुद्दाबारे कुनै टिप्पणी गरेको छैन ।














प्रतिक्रिया