काठमाडौं । एमालेको ११औँ महाधिवेशनमा अध्यक्षका दाबेदार केपी ओली र ईश्वर पोखरेल समूह प्यानलसहित प्रतिस्पर्धामा उत्रेका छन् । यसअघि १०औं महाधिवेशनमा ओलीलाई भीम रावलले टक्कर दिएका थिए । तर एक वर्षमै रावललाई एमालेमा रहने वातावरण बनाइएन । अब पोखरेलले ओलीलाई टक्कर दिँदैछन् ।
१९ सदस्यीय पदाधिकारीमा ओली प्यानलबाट पाँच उपाध्यक्षमा रामबहादुर थापा बादल, विष्णु पौडेल, गुरुप्रसाद बराल र पृथ्वीसुब्बा गुरुङको उम्मेदवारी परेको छ । बादल, पौडेल, बरालले पुनः पुरानै पदमा दोहोरिने गरी उम्मेदवारी दिएका छन् ।
महासचिवकै अर्का आकांक्षी प्रदीप ज्ञवालीलाई पनि ओलीले उपाध्यक्षमै उम्मेदवारी दर्ता गर्न आग्रह गरेका थिए । तर, उनी मौन विद्रोह गरेर केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएर महाधिवेशनस्थलबाट बाहिरिएका थिए । उनलाई उपाध्यक्षमै मनाउन ओलीसहितका नेता राति अबेरसम्म सक्रिय थिए ।
ओली प्यानलबाट महासचिवमा पुनः शंकर पोखरेलकै उम्मेदवारी परेको छ भने तीन उपमहासचिवमा विष्णु रिमाल, रघुवीर महासेठ र लेखराज भट्टको उम्मेदवारी परेको छ ।
नौ सचिवमा छविलाल विश्वकर्मा, पद्मा अर्याल, हिक्मत कार्की, शेरधन राई, महेश बस्नेत, राजन भट्टराई, खगराज अधिकारी, यामलाल कँडेल, भानुभक्त ढकालको उम्मेदवारी परेको छ । विश्वकर्मा र अर्यालबाहेक अरू सचिवमा नयाँ अनुहार हुन् ।
पोखरेल प्यानलबाट उपाध्यक्षमा गोकर्ण विष्ट, विन्दा पाण्डे, पर्शुमेघी गुरुङ र अरुण नेपालको उम्मेदवारी परेको छ । विष्ट यसअघि सचिव थिए । बाँकी एक उपाध्यक्षमा स्वतन्त्र हैसियतमा उम्मेदवारी दिएका भीम आचार्य वा रघुजी पन्तमध्ये एकलाई समर्थन गर्ने तयारी छ ।
महासचिवमा सुरेन्द्र पाण्डे, तीन उपमहासचिवमा योगेश भट्टराई, वैजनाथ चौधरीको उम्मेदवारी परेको छ । बाँकी स्वतन्त्र हैसियतमा उम्मेदवारी दिएकालाई समर्थन गर्नेबारे टिममा छलफल भइरहेको छ ।
नौ सचिवमा गोकुल बाँस्कोटा, ठाकुर गैरे, विनोद ढकाल, कर्ण थापा, रचना खड्का र पुरुषोत्तम पौडेलको उम्मेदवारी परेको छ । स्वतन्त्र उम्मेदवारी दिएका नेताहरूलाई समेटेर असन्तुष्ट मत बटुलेर कडा टक्कर दिएर जित्ने रणनीति बुन्न पोखरेल पक्षका नेताहरू राति अबेरसम्म व्यस्त छन् ।
ओली टिममा नपरेकाले पोखरेललाई साथ दिएका छन् । धेरैले स्वतन्त्र उम्मेदवारी दिएका छन् । जसकारण यसपटक ओलीलाई प्यानलसहित निर्वाचित गराउनु फलामको च्युरासरह हुने देखिएको छ ।














प्रतिक्रिया