काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक तथा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाई प्रमुख बिनेश मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अस्वाभाविक सम्पत्ति आर्जन गरेको आरोपमा मुनकर्मी र उनकी श्रीमती पूर्ण केशरी गोसाईविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो। अख्तियारका अनुसार मुनकर्मीले २०५४ चैत १ देखि २०८० मंसिर १४ सम्म सरकारी सेवामा रहँदा पारिश्रमिक, बचत, जग्गा बिक्री, ऋण, शेयर तथा लाभांश, बोनस र अन्य वैधानिक स्रोतबाट कुल ३ करोड ७३ लाख ८१ हजार ४४४ रुपैयाँ २० पैसा मात्र आर्जन गरेका थिए।
तर सोही अवधिमा मुनकर्मी र उनको परिवारले जग्गा खरिद, घर निर्माण, सवारी साधन, सुनका गरगहना, बीमा भुक्तानी, अध्ययन शुल्क, ऋण भुक्तानी, व्यवसायमा लगानी तथा बैंक तथा सहकारी खातामा जम्मा रकमसमेत गरी ६ करोड २४ लाख १५ हजार ९६१ रुपैयाँ ३९ पैसा खर्च गरेको देखिएको अख्तियारले जनाएको छ। यसअनुसार कुल आयभन्दा कुल व्यय २ करोड ५० लाख ३४ हजार ५१७ रुपैयाँ १९ पैसा बढी रहेको पाइएको छ।
उक्त अतिरिक्त रकमको वैधानिक स्रोत पुष्टि नभएकाले मुनकर्मीले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको र सार्वजनिक पदमा रहँदा अख्तियारको दुरुपयोग गरी श्रीमतीको नाममा समेत सम्पत्ति खरिद गरेको अनुसन्धानबाट देखिएको अख्तियारको ठहर छ। अख्तियारले मुनकर्मीविरुद्ध २ करोड ५० लाख ३४ हजार ५ सय रुपैयाँ विगो माग दाबी गर्दै जरिवाना, कैद सजाय र स्रोत नखुलेको सम्पत्तिबाट बढेको रकम जफत गर्न माग गरेको छ। उनकी श्रीमती पूर्ण केशरी गोसाईलाई समेत प्रतिवादी कायम गरिएको छ।














प्रतिक्रिया