काठमाडौं । उच्च अदालत तुलसीपुर बुटवलको आदेशले धरौटीमा रिहा भएका रास्वपा सभापति रवि लामिछाने आइतबार पार्टी कार्यालय जाने भएका छन् । आइतबार दिउँसो ३ बजे रास्वपाले रविलाई पार्टी केन्द्रीय कार्यालय, वनस्थलीस्थित घण्टीघरमा स्वागत गर्ने कार्यक्रम छ। शुक्रबार रुपन्देही जिल्ला अदालतमा तीन करोढ ७४ लाख बिगो रकम बुझाएर फर्केका र्विले शनिबार चितवनको भरतपुरस्थित चौबीसकोटीमा आमसभालाई सम्बोधन गरेका थिए ।
उनले सभामा आफूलाई झुटा मुद्दा लगाउने हेलिकोप्टरमा झुन्डिएर भागेको भन्दै जेनजीको सहयोगमा देश चलाउने बताए । शनिबार नै काठमाडौं फर्केका रविले लगत्तै जेनजी सहिदका परिवार र घाइतेलाई भेटेका थिए । उनले आइतबार पनि जेनजी घाइतेलाई अस्पतालमा पुगेर भेटेका छन् । उनले आफूहरू जेनजीको पक्षमा रहेको बताएका थिए ।
रविलाई पार्टी कार्यालयमा स्वागत गरेपछि अब कार्यकारी अधिकार पनि फिर्ता गर्ने कार्यबाहक सभापति डिपी अर्यालले तयारी गरेका छन् । रवि अदालतबाट सफाइ पाएर छुटेका भने होइनन् । पाँचवटा जिल्ला अदालतमा उनीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा विचाराधीन छ । तैपनि रास्वपाले रविलाई पूरै जिम्मेवारीमा फर्काउने तयारी गरेको हो ।














प्रतिक्रिया