काठमाडौं । पछिल्लो समय धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ कार्यालयको कामभन्दा बढी पार्टी गतिविधिमा सक्रिय भएका छन् । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क संगठन विस्तारका लागि देश दौडाहामा लागेका छन् । आफैं अध्यक्ष भएर पार्टी खोलेका हर्क पछिल्ला चार दिनमै पार्टीका दुई उपाध्यक्षमाथि गरिएको कारबाहीले चर्चामा आएका छन् । शनिबार बुटवलमा आयोजित कार्यक्रममा भएको घटनाक्रमपछि उनले उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरे ।
यसअघि प्रहरी हिरासतमा रहेका अर्का उपाध्यक्ष राजकुमार तामाङलाई निलम्बन गरेको तीन दिन नबित्दै साम्पाङले परियारमाथि पनि कारबाहीको निर्णय सार्वजनिक गरेका हुन् । शनिबार रुपन्देहीको बुटवलस्थित ट्राफिकचोकमा सभा आयोजना गरिएको थियो । कार्यक्रमको तयारीका लागि उपाध्यक्ष परियार केही दिनअघि नै बुटवल पुगेका थिए । शनिबारको सभाका लागि समेत तयारी व्यवस्थित देखिएको थियो ।
तर कार्यक्रम सञ्चालनका क्रममा आफूलाई जानिजानी बोल्न नदिइएको भन्दै परियार आक्रोशित बने । सभामा स्वागत मन्तव्यपछि प्रमुख अतिथिका रूपमा पार्टी केन्द्रीय अध्यक्ष हर्क साम्पाङले सम्बोधन गरे । त्यसपछि टीका लगाउने र पार्टी प्रवेश कार्यक्रम सुरु भयो । सोही समयमा उद्घोषकले उपाध्यक्ष परियारलाई सम्बोधनका लागि आमन्त्रण गरे । तर उनका अनुसार, आफू बोल्न थालेकै बेला अधिकांशको ध्यान अध्यक्ष साम्पाङसँग टीका लगाउने र फोटो खिच्नतर्फ मोडिएपछि परियारको कुरा सुन्नेतर्फ कसैको ध्यानै गएन।
शनिबार राति सामाजिक सञ्जालमार्फत हर्कले कारबाही गरेको जानकारी गराए । उनले कारबाहीको स्वरूप स्पष्ट खुलाएका छैनन् । यसअघि पुस २ गते हर्कले विज्ञप्ति जारी गर्दै उपाध्यक्ष तामाङलाई निलम्बन गरेका थिए । विस्फोटक पदार्थसम्बन्धी मुद्दामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेपछि उनलाई अनुसन्धानको निष्पक्षताका लागि पदबाट हटाइएको जनाइएको थियो ।
चार दिनको अन्तरालमै दुई उपाध्यक्षमाथि गरिएको कारबाहीले श्रम संस्कृति पार्टीभित्र कडा अनुशासन लागू गरिएको सन्देश दिएको छ । तर सार्वजनिक कार्यक्रममा व्यक्त असन्तुष्टिलाई लिएर गरिएको कारबाहीले पार्टीभित्र असहमति र नेतृत्व शैलीबारे थप बहसलाई पनि जन्म दिएको छ । अहिले हर्क पार्टी बनाउँदैछन् कि भत्काउँदैछन् भन्ने बहस सुरु भएको छ ।














प्रतिक्रिया