भदौ २३ को जेनजी आन्दोलनका भगौडा मिराज ढुंगाना समूह आजदेखि सडकमा आउने


काठमाडौँ । मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले सोमबार आयोजना गर्न लागेको आन्दोलनलाई सरकारले गम्भीर रूपमा लिएको छ । आन्दोलनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अनुमति नलिएका कारण प्रहरीले प्रदर्शनमा सहभागी हुनेलाई नियन्त्रणमा लिने तयारी गरेको छ ।

जिल्ला प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार सोमबार बिहान ११ बजेदेखि माइतीघर मण्डलामा आयोजना गर्ने घोषणा गरिएको आन्दोलन नियन्त्रण गरिन लागेको हो । ढुंगाना समूहले जेनजीको माग, मुद्दा सम्बोधन नभएको भन्दै १० बुँदे एजेण्डासहित आन्दोलनको घोषणा गरेको छ ।

समूहले आइतबार युवाको भावनाबमोजिम सरकार सञ्चालन नभएको आरोप लगाउँदै सोमबारदेखि शान्तिपूर्ण आन्दोलन गर्ने जनाएको थियो । ढुंगानाले विकृति, विसंगति र भ्रष्टाचारको अन्त्यसहित सुशासनका पक्षमा भएको गत आन्दोलनको मर्म र भावनाबमोजिम परिणाम आउन नसकेकाले आफूहरू पुनःसडकमा आउन बाध्य भएको बताएका थिए ।

उनले राज्यको पुनःसंरचना, राजनीतिक स्थिरता, निष्पक्ष न्याय र संविधान पुनर्लेखनसहित संवैधानिक सुधार, पक्राउ परेका जेनजी अभियन्ताको तत्काल रिहाइ र आन्दोलनका क्रममा युवाको हत्यामा संलग्न दोषीमाथि निष्पक्ष छानबिन गरी कडाभन्दा कडा कारबाही गर्ने माग गरेका थिए । उनले प्रधानमन्त्री सुशीला कार्की सरकारले चुनाव गराउन नसक्ने भन्दै सर्वपक्षीय सरकार गठन गर्नुपर्ने धारणा सार्वजनिक गरेपछि आलोचित भएका छन् ।

जेनजी आन्दोलनमै सहभागी अन्यले भने आजको आन्दोलनको विरोध गरेका छन् । भदौ २३ को जेनजी आन्दोलनका बेला ढुंगाना दिउँसो १२ बजेदेखि नै गायब भएका थिए ।