गगन थापाले भने– भदौ २३ को घटनाको जिम्मेवारी तत्कालीन प्रधानमन्त्रीले लिनुपर्छ


काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन्। सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले भदौ २३ को घटना अकल्पनीय भएको र नेपालको इतिहासमा दुःखद् रहेको र यसको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका हुन्। ‘त्यो घटना नभइदिएको भए हुन्थ्यो भन्ने लागिरहन्छ। आक्रोश व्यक्त भयो सडकमा। त्यसको अर्को पाटो पनि छ। हामीले तत्काल २३ गते बेलुका नै गृहमन्त्रीलाई राजीनामा दिन लगायौँ र सरकारले यसको जिम्मेवारी बोक्नुपर्छ,’ उनले भने।
महामन्त्री थापाले तत्कालीन सरकारमा रहेका सबै मन्त्री जेनजी आन्दोलनका दोषी भएको उनको भनाइ छ ।

‘सार्वजनिक ओहोदामा बसेको मान्छेको मोरालिटी ठूलो कुरा हो। पोल्टिकल मोरालिटी अझ ठूलो कुरा हो। म यसको जिम्मा लिन्छु भन्दा कोही सानो हुँदैन। ठूलो पदमा जो छ, उसले बढी जिम्मेवारी लिनुपर्छ। घटना कसरी भयो यसको छानबिन हुँदै गर्ला तर यसको जिम्मेवारी सरकारमा बस्ने साथीहरुले लिनुपर्छ। म भए लिन्थेँ। जो छ उसले लिनुपर्छ। त्यतिबेलाको प्रधानमन्त्रीले लिनुपर्छ,’ उनले भने ।

महामन्त्री थापाले जेन–जी आन्दोलनमा आफ्नो घर जलेपछि काठमाडौंमा डेरा नपाएको पीडा सुनाए । धुम्बाराहीमा आयोजित कार्यकर्ता र शुभचिन्तकसँगको भेटमा उनले घर जल्दाको संकट र त्यसपछि डेरा खोज्दाको अनुभव सुनाएका हुन् । डेरा भेटिए पनि गगन थापा बस्ने भनेपछि विभिन्न बहाना बनाएर डेरा नदिएको भन्दै उनले दुःख साटेका हुन् ।

‘घर जलेपछि त्यहाँबाट निस्कियौँ । म चाहिँ त्यही घरमा बसेको र त्यही घरमा हुर्किएको । डेराको बारे थाहा पनि थिएन । बानेश्वरतिर साथीहरुले एउटा डेरा खोजेको, हुन्छ–हुन्छ भन्नुभएछ । अनि को बस्ने भनेको फलानो भनेपछि त पहिला हुन्छ भनेको पछि त यहाँ पानी आउँदैन भनेर पठाइदिनुभएछ । हाम्रो हालत त त्यो थियो नि पहिला’, महामन्त्री थापाले भने ।