रवि र बालेन मिलेर जाने सहमति


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेनबीच सोमबार राति ६ घन्टा वार्ता भएको छ । दुवैबीच बिहान पनि भेटवार्ता भएको थियो । रास्वपाका नेता असिम शाहको कमलपोखरीस्थित निवासमा भएको भेटवार्ता सकारात्मक भएको नेताहरूले बताएका छन्।

नेताहरुका अनुसार रास्वपामा प्रवेश, पावर सेयरिङ तथा फागुन २१ गते हुने निर्वाचनमा सहभागिताबारे विस्तृत छलफल भएको छ। भेटवार्तामा बालेनसँगै सुनिल लम्साल तथा रास्वपाका उपसभापति डिपी अर्याल पनि सहभागी थिए। बैठकमा दुवै नेताबीच शक्तिको बाँडफाँड र भावी राजनीतिक यात्राका विषयमा समेत विस्तृत छलफल भएको बताइएको छ।

वैकल्पिक राजनीतिक शक्तिहरूलाई एकै ठाउँमा ल्याउने विषयमा सहमति खोज्ने प्रयासका साथै दीर्घकालीन राजनीतिक सहकार्यबारे पनि संवाद भएको स्रोतको भनाइ छ। पुराना दलका नेतालाई जसरी पनि रोक्न बालेनलाई प्रधानमन्त्री बनाउने विषयमा रवि लामिछाने पनि सकारात्मक देखिएको बताइन्छ ।

छलफलमा प्रारम्भिक चरणमा प्रधानमन्त्रीको उम्मेदवार बालेनलाई बनाएर अघि बढ्ने र पछि कार्यकाल बाँडफाँड गर्ने विकल्पबारे पनि कुरा भएको बताइएको छ। वार्ता सकिएपछि राति करिब १ बजे दुवै नेता एउटै गाडीमा निस्किएका थिए। भेटका क्रममा सभापति लामिछानेले बालेनलाई रास्वपामा साधारण सदस्यका रूपमा प्रवेश गर्न आग्रह गर्दै त्यसपछि पार्टीको मुख्य नेतृत्वमा ल्याउन आफूलाई कुनै समस्या नहुने प्रस्तावसमेत राखेको बताइन्छ ।

यसअघि नै रास्वपाका नेताहरू स्वर्णिम वाग्ले र शिशिर खनालसँग बालेनका निकट सल्लाहकार कुमार वेनबीच यस विषयमा पटक–पटक छलफल भइसकेको छ। तर सहकारी ठगीको आरोप लागेका रविसँग मिलेर जाँदा राजनीतिक रूपमा ठूलो घाटा बेहोर्नुपर्ने बालेन निकट नेताहरुको भनाइ छ ।