ओली र देउवाको मुखै हेर्न मन छैन भन्ने प्रधानमन्त्री कार्की आज संवाद गर्दै


काठमाडौं । जेनजी आन्दोलनको बलमा अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग संवाद गर्दैछिन् । राष्ट्रपति रामचन्द्र पौडेलको रोहबरमा जेनजी आन्दोलनपछिको अवस्थाबारे उनीहरूबीच पहिलोपटक सामूहिक छलफल हुन लागेको हो ।

पौडेलले नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूसँग हुने छलफलमा प्रधानमन्त्री कार्कीलाई पनि आमन्त्रण गरेका छन् । केही समयअघि प्रधानमन्त्री कार्कीले आफूलाई देउवा र ओलीको मुखै हेर्न मन नभएको बताएकी थिइन् । कार्कीको सो अभिव्यक्तिपछि एमाले अध्यक्ष ओली निकै रुष्ट बनेका थिए ।

फागुन २१ को डेडलाइन नजिकिँदै गर्दा प्रमुख दलहरू चुनावमा जान तयार नभएपछि प्रधानमन्त्री कार्की बाध्य भएर ओली र देउवा भेट्न राजी भएकी हुन् । एमाले अध्यक्ष ओलीले सोमबार नै आफ्नो विश्वास पात्र नेता महेश बस्नेतलाई प्रधानमन्त्री कार्कीले बोलाएको सर्वपक्षीय छलफलमा फागुनमा चुनाव हुन नसक्ने भन्दै आफूहरू प्रतिनिधिसभा पुनःस्थापनाको अभियानमा लागेको रहेको सन्देश सुनाएका थिए । सोमबारको छलफलमा अधिकांश दलका प्रतिनिधिले प्रधानमन्त्री कार्कीलाई शीर्ष नेतृत्वसँग संवाद गर्न सल्लाह दिएका थिए । सोहीअनुसार आज प्रधानमन्त्रीले देउवा, ओली र प्रचण्डलाई भेट्न लागेकी हुन् ।