रमेश लेखकले सोमबार जाँचबुझ आयोगलाई बयान दिने


काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखक जाँचबुझ आयोगमा उपस्थित भएर बयान दिन तयार भएका छन् । बिहीबार नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले जेनजी घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले आफूलाई जानकारी लिन बोलाएको जानकारी दिए ।

‘भदौ २३ र २४ गतेका घटनाबारे जाँचबुझ गर्न गठित आयोगले मलाई बोलाएको छ,’ उनले भने, ‘मैले आयोगमा उपस्थित भएर बयान दिने निर्णय गरेको छु ।’ आयोगले शुक्रबारका लागि बोलाए पनि आफू सोमबार आयोगमा जाने उनले स्पष्ट पारे । लेखकले बुधबार पार्टी सभापति शेरबहादुर देउवासँग बयान दिने विषयमा छलफल गरेका थिए ।

लगत्तै पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा भाग लिन सानेपा पुगेका लेखकलाई नेताहरूले आयोगलाई बयान दिन सुझाएका थिए । सोही कारण उनी सोमबार आयोग जाने निर्णयमा पुगेका हुन् ।