काठमाडौं । एउटै पार्टीमा आबद्ध हुने प्रयास असफल भएपछि रास्वपा, देश विकास पार्टी र उज्यालो नेपाल पार्टी एउटै चुनाव चिन्ह लिएर निर्वाचनमा जाने भएका छन् । त्यसका लागि रास्वपा, देश विकास पार्टी र उज्यालो नेपाल पार्टीका दोस्रो तहका नेताहरू गृहकार्यमा जुटेका छन् ।
रवि लामिछाने, बालेन्द्र साह बालेन र कुलमान घिसिङबीच एउटै पार्टीमा आबद्ध गर्नेबारे पटक पटक छलफल भए पनि कुनै निष्कर्षमा पुग्न सकेको छैन । शुक्रबार काठमाडौं महानगरको नगरसभा बैठक भएकाले रविसँगको ‘वान टू वान’ वार्ताका लागि बालेनले समय मिलाउन सकेका छैनन् । काठमाडौंको नगरसभा त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकालीमा राखिएको छ । सोही कारण रवि र बालेनबीच अर्को चरणको भेटवार्ता शनिबार हुन सक्ने देखिएको छ ।
बालेन र रविबीचको राजनीतिक संवादको सुरूआत गत सोमबार भएको थियो। रास्वपाका पूर्वसांसद असिम शाहको घरमा ६ घन्टा भएको वार्तामा रास्वपा सभापति रविले बालेनलाई नै प्रधानमन्त्री बनाउने गरी फागुन २१ को चुनावमा जाने प्रस्ताव गरेका थिए। यो प्रस्तावमा ठोस सहमति हुन भने बाँकी छ। उनीहरू दुईबीच अहिलेसम्म भएका छलफलमा केही विषयमा सहमति भइसकेको छ भने केही विषयमा सहमति जुट्न बाँकी रहेको स्रोतको भनाइ छ।
बालेन र ऊर्जामन्त्री कुलमान घिसिङबीच भने सहकार्य गरेर सँगै अघि बढ्ने सहमति भइसकेको उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य अभिषेकराज सिंहले बताए। बिहीबार साढे दुई घण्टा वार्तामा बसेका बालेन र रवले नयाँ दल र शक्तिबिच समायोजन, चुनावमा सिट बाँडफाँटदेखि सत्ता सहकार्यसम्मको मोडालिटी बनाउन दुवैतर्फका दोस्रो तहका नेतालाई जिम्मेवारी दिएका छन् ।
रास्वपाका एक नेताका अनुसार मोडालिटी बनाउन रास्वपाका तर्फबाट नेता शिशिर खनाल र बालेनका तर्फबाट कुमार बेनलगायतलाई जिम्मेवारी दिइएको छ । स्रोतका अनुसार तत्काल एकता सम्भव नभए समानुपातिक बन्दसूचीमा तीनवटै पार्टीका नेतालाई समेट्ने, चुनावमा जाँदा ‘लौरो’ चिन्ह साझा लिने र बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउनेबारे गृहकार्य अन्तिम चरणमा पुगेको छ ।
बालेन पक्षले कुलमान घिसिङको उज्यालो नेपाल र देश विकास पार्टी तथा विभिन्न जेन–जी समूहसँग छलफल गर्नेछ । त्यसपछि दुवै पक्ष बसेर मोलालिटी तयार गरी शीर्ष तहमा बुझाउनेछन् । सहकार्यको खाका आएपछि रवि–बालेन वार्तामा बसेर अन्तिम निर्णय गर्ने उनले बताए । रास्वपा नेता खनालले दुई शीर्ष नेताको निर्देशनअनुसार सहकार्यको मोडालिटी बनाउन जिम्मेवारी आएको र पार्टीमा छलफल थालिसकेको बताए ।














प्रतिक्रिया