काठमाडौं । पार्टी सभापति शेरबहादुर देउवा नियमित महाधिवेशन गराउन अनिच्छुक भएपछि कांग्रेस ठूलो विद्रोहको संघारमा पुगेको छ । पुस २६ गते तोकिएको १५औं महाधिवेशनका लागि हाल क्रियाशील सदस्यता वितरण र इन्ट्रीको काम भइरहेको छ । पुस १६ गते वडा तहको अधिवेशनको मिति तोकिएको छ ।
तर संस्थापन पक्षले व्यस्तता भन्दै महाधिवेशनको कार्यतालिका हेरफेर गर्ने रणनीति अख्तियार गरेपछि कांग्रेसमा कसैले नसोचेको विपत्ति आउने सम्भावना देखिएको छ । कांग्रेसमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको हस्ताक्षर गरेर पार्टी कार्यालयमा दर्ता गरेका छन् । असोज २९ गते पार्टी कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइएको हस्ताक्षरसहितको माग पुस २९ मा तीन महिना हुनेछ ।
कांग्रेस विधानमा विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएको तीन महिनामा विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ । त्यसैले अब नियमित महाधिवेशन नगराइए विशेष महाधिवेशनमा जानुपर्ने भन्दै अभियानको नेतृत्व गर्ने नेताहरू सक्रिय भएका छन् । केन्द्रीय कार्यसमिति र कार्यसम्पादन समितिमा बहुमत रहेको संस्थापन पक्षले फागुन २१ को निर्वाचनअगाडि कुनै पनि महाधिवेशन नगर्ने निष्कर्ष निकालेपछि इतर पक्ष विशेष महाधिवेशन भेला डाक्ने गृहकार्यमा जुटेको छ ।
विशेष महाधिवेशन पक्षधर नेताहरुले त्यसका लागि शनिबार बैठक बोलाएर भेला तय गर्नेबारे छलफल भइरहेको नेता सुवास पोखरेलले बताए । उनीहरुले आजै केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा अरु सबै एजेन्डा स्थगित गरेर असोज २९ गते केन्द्रीय कार्यलयमा दर्ता भएको विशेष महाधिवेशनको निवेदनमाथि छलफल गर्न ध्यानाकर्षण पत्र दिने तयारी गरेका छन् । यसअघि सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकमा पनि निर्वाचन अगाडि महाधिशन गर्ने कि नगर्ने भन्ने चर्को विवादका बीच नियमित महाधिवेशन नै गर्ने भनेर कार्यतालिका ल्याइएको थियो । पुस १६ बाट वडा अधिवेशन सुरु भई पुस २६–२९ मा केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने तालिका थियो । तर, क्रियाशील सदस्यताको वितरण, नवीकरण र विवाद समाधान गर्ने काम नै अहिलेसम्म सम्पन्न नहुने भएपछि उक्त कार्यतालिकाभित्र महाधिवशेन नहुने करिब निश्चित छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले तलका सात तहमध्ये वडा र क्षेत्रको मात्रै अधिवेशन गरेर सिधै महाधिवेशनको प्रस्ताव गरेका थिए । अरु चार तहको अधिवेशन निर्वाचन पछाडि सार्दा केन्द्रीय महाधिवेशन गर्न सकिने उनीहरुको तर्क छ । तर, त्यसमा संस्थापन पक्ष तयार छैन । महामन्त्री थापाले निर्वाचन अगाडि पार्टीको नेतृत्व र नीति परिवर्तन नगरी आफू निर्वाचनमा प्रतिस्पर्धा नगर्ने जानकारी समेत बिहीबारको केन्द्रीय कार्यसम्पादन समितिको बैठकलाई गराएका छन् । अर्का महामन्त्री शर्माले त अबको निर्वाचनमा आफू प्रतिस्पर्धा नगर्ने निर्णय नै लिइसकेका छन् । सहमहामन्त्री बद्री पाण्डे पनि चुनावमा नउठ्ने भएका छन् । विशेष महाधिवेशन पक्षधर नेताहरुले वर्तमान नेतृत्वलाई कायम राखेर र पुरानै नेतृत्वको हस्ताक्षरको टिकट बोकेर चुनावमा नजाने भएपछि कांग्रेसमा नसोचेको संकट आइलाग्ने देखिएको छ ।














प्रतिक्रिया