काठमाडौं । कांग्रेस नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकले जाँचबुझ आयोगमा बयान दिएका छन् । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको जनधनको क्षतिको विषयमा बयान दिन लेखक सिंहदरबारस्थित जाँचबुझ आयोग पुगेका थिए । सोमबार दिउँसो साढे १२ बजे बयानका लागि पुगेका उनी करिब ३ बजे आयोगको कार्यालयबाट बाहिरिए ।
उनले आयोगमा लिखित बयान दिएका हुन् । लेखकले जेनजी आन्दोलनका क्रममा गोली चलाउन आफूले आदेश नदिएको दाबी गरेका छन् । उनले पदयीय मर्यादाका आधारमा र नैतिकताका आधारमा गृहमन्त्रीको पदबाट राजीनामा दिएको बताएका छन् । उनले भदौ २३ गते दिउँसो २२ जना प्रदर्शनकारी मारिएपछि सोही दिन बेलुका नैतिकताका आधारमा पदबाट राजीनामा दिएको बताएका छन् । लेखकले आयोगमा बयान दिने क्रममा पनि भनेका छन्, ‘अन्यथा यस्ता प्रदर्शनहरुमा गृहमन्त्रीले बल प्रयोग गर्ने बारे कुनै लिखित र मौखिक आदेश दिने प्रश्न नै उठ्दैन ।
न त त्यस्तो कुनै कानुनी व्यवस्था नै छ । गृहमन्त्रीलाई कुनै पनि कानुनले बल प्रयोग सम्बन्धमा निर्देशन दिने अधिकार दिएको छैन । त्यस्तो कुनै आदेश मैले दिएको पनि छैन ।’ उनले शान्तिपूर्ण प्रदर्शन गर्ने भनिए पनि घुसपैठ गरेर आन्दोलनलाई हिंसात्मक बनाएको बताएका छन् ।
उनले भनेका छन्, ‘धमिलो पानीमा माछा मार्न चाहने तत्वले जेनजीको भावनामाथि खेलेर सुनियोजित रुपमा शान्तिपूर्ण प्रदर्शनलाई हिंसात्मक बनायो । वानेश्वरमा प्रदर्शन उग्र एवं हिंसात्मक हुन थालेको जानकारी पाउना साथ मैले गृहमन्त्रीको हैसियतले सम्माननीय प्रधानमन्त्री, माननीय रक्षामन्त्री र नेपाली सेनाका प्रधान सेनापतिसमेतलाई जानकारी गराएको थिएँ।’ प्रधानमन्त्री र गृहमन्त्री कसैले पनि प्रहरीलाई अत्यधिक बल प्रयोग गर भनेर नभनेको उनले बयानमा भनेका छन् ।
‘गृहमन्त्रीले उपलब्ध सूचनाका आधारमा समग्रमा दिशानिर्देश गर्ने हो, जुन मैले २२ गतेको केन्द्रीय सुरक्षा समितिको बैठकमा गरेको थिएँ । प्रधानमन्त्री वा मन्त्रीले कसैलाई यति बल प्रयोग गर, यसरी गर भन्ने कुरा पनि होइन । प्रदर्शनका बेला शान्ति सुरक्षा कायम गर्ने क्रममा कहाँनेर के अवस्था र आवश्यकता पर्छ, प्रदर्शनलाई कसरी नियन्त्रण गर्ने, कति बल प्रयोग गर्ने, कसरी गर्ने, कुन अबस्थामा बल प्रयोग गर्ने भन्ने विषय तत्कालीन अवस्थामा खटिएको सुरक्षा निकायले तत्कालीन परिस्थिति तथा बस्तुगत आधारमा विश्लेषण गरी निर्धारण गर्ने हो,’ उनले भनेका छन् ।
लेखकले कांग्रेस कार्यालयमा पत्रकार सम्मेलन गरी आफूमाथि प्रश्न उठेकाले आयोगमा पुगेर बयान दिएको बताएका छन् । ‘लोकतन्त्रमा प्रश्न उठेपछि जवाफदेही पनि हुनुपर्छ । भदौ २३ र २४ गतेको घटनामा ममाथि पनि प्रश्न उठेको छ, त्यसैले मैले आयोगमा पुगेर जवाफ दिएको हुँ,’ उनले भने ।














प्रतिक्रिया