देश चुनावमा होमिएपछि दुर्गा प्रसाईले भेटे प्रधानमन्त्री, के भो कुराकानी ?


काठमाडौं । देश चुनावमा होमिएपछि राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा दुर्गा प्रसाईले प्रधानमन्त्री सुशीला कार्की भेटेका छन् । मंगलबार बिहान बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री कार्कीले मुलुकमा शान्ति र अमनचयन कायम राखी दिगो लोकतन्त्र स्थापना गर्ने एक मात्र माध्यम निर्वाचन रहेको भन्दै होमिन प्रसाईलाई आग्रह गरेकी छन् । प्रधानमन्त्री कार्कीले अब मुलुकले अस्थिरता र अशान्ति थेग्न नसक्ने भएकाले आफ्ना माग र असन्तुष्टिहरु शान्तिपूर्ण माध्यमबाट राख्न पनि आग्रह गरिन् ।

उनले अब जनताबाट आफ्ना मुद्दा अनुमोदन गराउनु नै लोकतान्त्रिक निकासको एक मात्र विकल्प रहेको स्पष्ट पारेकी थिइन् । ‘धेरै अप्ठ्यारो अवस्थाबाट मुलुकलाई शान्ति सुव्यवस्थामा फर्काएका छौँ,’ उनले भनिन्, ‘सबै खालका संशयहरुलाई चिर्दै मुलुक पूर्णरुपमा निर्वाचनको माहोलमा होमिएको छ। यस्तो बेलामा सबै पक्षबाट जिम्मेवार भूमिकाको अपेक्षा हामीले गरेका छौँ। यो देश मेरो पनि हो भन्ने सोच राखेर सबै पक्ष जिम्मेवार बनौँ।’ प्रधानमन्त्री कार्कीले प्रसाईलाई शान्ति कायम राख्न आग्रह गर्दै शान्तिको प्रतीक गौतम बुद्धको चित्र उपहार पनि दिइन् ।

‘हामी पनि न्यायका पक्षधर हौँ ,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘यहाँ सत्ताभोग र सुखसयल गर्न आएका होइनौँ। भ्रष्टाचारको अन्त्य, शोषित पीडित वर्गलाई न्याय दिलाउने प्रक्रियाको थालनी गरेका छौँ। सबै कुराको नतिजा रातारात नदेखिए पनि हामीले आधारशीला तयार पार्दै गएका छौँ। तपाईले उठाउनुभएका कतिपय जायज मुद्दाको सम्बोधनका लागि पनि सरकारले गृहकार्य गरिरहेकै छ।

अझै थप छलफल गर्दै जाऔँला।’ प्रसाईंले सत्ताको कक्षसम्म भुइँमान्छेको आवाज जबर्जस्त रूपमा प्रवेश गराएको बताएका छन् । ‘वार्ता औपचारिकतामा सीमित रहेन । अब निर्णयकक्षमा जनताको पीडा, आक्रोश र अपेक्षा बोल्न थालेको छ,’ उनले लेखेका छन् । सडकको आवाज बेवास्ता गर्ने छुट अब सत्तालाई नरहेको पनि उनले उल्लेख गरेका छन् ।