ब्रिटिस कलेजको ‘लाखौ लुट धन्दा’ कारबाही गर्ने सरकारको तयारी


काठमाडौं । थापाथलीस्थित प्रतिष्ठित ब्रिटिस कलेज विवादमा तानिएको छ । कलेजले विद्यार्थीलार्ई इन्टर्नसिपका लागि भन्दै दुबई पठाएर अलपत्र पारेको आरोप लगाउँदै पीडित विद्यार्थीहरुले आन्दोलन गरेपछि कलेजभित्रको विवाद बाहिर आएको हो। विद्यार्थीहरुले कलेजको शैक्षिक कार्यक्रमको वैधता, विद्यार्थीसँग लिइने शुल्कलगायतको विषयमा समेत गम्भीर प्रश्न उठाएका छन्। केही दिनअघि यही विषयले कलेज छोडफोडसमेत भएको थियो ।

कलेजले नेपालबाट विद्यार्थीहरूसँग चर्को शुल्क असुलेर पछि बेलायत जान पाउने लोभ देखाउँदै दुबई पठाउने गरेको आरोप लागेको छ । होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीहरू कलेजको ठगी धन्दामा परेका हुन्। कलेजले वार्षिक लिने दुई लाखबाहेक दुबई इन्टर्नसिपका लागि प्रतिविद्यार्थी सात लाख ५० हजार रूपैयाँ लिएको विद्यार्थीहरूले बताएका छन्। दुबई पुगेपछि श्रमिक परिचय पत्र बनाएर आफै काम खोज्न भनिएको विद्यार्थीहरूको आरोप छ।

सोही कारण कयौँ विद्यार्थी अलपत्र परेका थिए। इन्टर्नसिप गर्न नपाएर १० जना गत मंसिर १५ गते नेपाल फर्किएका थिए। बाँकी नौ जना विद्यार्थी श्रमिकका रूपमा अन्य काम गरेर बसिरहेको पीडित विद्यार्थीहरूले बताएका छन्। उनीहरूले विदेशी विश्वविद्यालयको सम्बन्धन लिई नेपालमा सञ्चालित कलेजलाई नियमन गर्ने शिक्षा मन्त्रालयअन्तर्गतको उच्च शिक्षा महाशाखा, शिक्षामन्त्री, विभिन्न राजनीतिक दलका शिक्षा विभागका सदस्य लगायत सरोकारवालाको ध्यानाकर्षण गराएसँगै मन्त्रालयले विवादका विषयमा चासो दिएर छानबिन सुरु गरेको छ।

विवादबारे सामाजिक सञ्जाल र सञ्चारमाध्यममा व्यापक चर्चा तथा पीडित विद्यार्थीको उजुरीपछि मन्त्रालयले छानबिन गर्न समिति गठन गरेको छ। मन्त्रालयको टोलीले कलेजको सम्बन्धन शुल्क संरचना र वैदेशिक इन्टर्नसिपको कानुनी आधारका बारेमा अध्ययन गर्ने जनाएको छ। मन्त्री महाविर पुनले ब्रिटिस कलेजले दुवईमा इन्टर्नसिप गराउन भनेर अनुमति नलिएको र यसरी विद्यार्थीलाई समस्यामा पार्न नहुने बताए।

उनले विद्यार्थीलाई विश्वविद्यालयमा नभएर इन्स्टिच्युटमा पठाएको र स्नातक तहको विद्यार्थीलाई डिप्लोमा तहमा अध्यापन हुने संस्थामा पठाएकोले यस्तो समस्या आएको, विद्यार्थीलाई प्रलोभव देखाएकाले यसरी हुँने गतिविधिलाई मन्त्रालयले छानविन गरेर आवश्यक निर्देशन जारी गर्नेमा जोड दिए। उनले कलेजको लाइसेन्स खारेज हुन सक्ने चेतावनी पनि दिए ।

इन्टर्नसिपका लागि दुबई पुगेका विद्यार्थीलाई समेत फर्किन बाध्य पारेर कलेजविरुद्ध बोल्न लगाएको आरोप काठमाडौंमा रहेका केही विद्यार्थीमाथि लागेको छ । पहिलो वर्षमा अध्ययनरत विद्यार्थी प्रियंका नेपालको अगुवाइमा दुबई पुगेका केही विद्यार्थीलाईसमेत विभिन्न प्रलोभन तथा चेतावनीमा कलेजविरुद्ध अभिव्यक्ति दिन लगाएको अर्को पक्षको आरोप छ । प्रियंकाले सामाजिक सञ्जालमार्फत दुबईमा विद्यार्थीलाई ‘सानो काम लगाइएको’ र ‘श्रम शोषण गरिएको’ आरोप लगाएकी छन् । कलेज अधिकारीहरुले भने नेपालमै बसेर केही विद्यार्थीले भ्रम फैलाउँदै आफूले पहिले तिरेकोभन्दा बढी रकम मागेको दाबी गरेका छन् ।

कलेजबारे तटस्थ धारणा राख्ने विद्यार्थीलाईसमेत सामाजिक सञ्जालमार्फत् नकारात्मक एक्सपोज गर्ने चेतावनी दिइएको उनीहरुको भनाइ छ । कलेजले लिँदै नलिएको शुल्कबारे पनि भ्रम फैलाइएको आरोप आन्दोलनरत विद्यार्थीहरुमाथि लागेको छ । दुबईबाट फर्किएका केही विद्यार्थी र उनीहरुका अभिभावकसँग कलेज प्रशासनले छलफल गरेर समस्या समाधान गरिसकेको दाबी गरेको छ ।