सामनुपातिकको भागबण्डा विवादमा तानिएका मन्त्री कुलमान घिसिङको स्पष्टीकरण


काठमाडौं । प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ बुझाइएका केही उम्मेदवारलाई आफूँग जोडेर विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा असत्य, भ्रामक र नियोजित टिप्पणीहरू फैलाइँदै आएकोप्रति ऊर्जामन्त्री कुलमान घिसिङले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

मन्त्री घिसिङले समाचार तथा चर्चामा ‘भान्जा’ भनेर उल्लेख गरिएका व्यक्ति आफ्नो भान्जा नभएको स्पष्ट पार्दै उनी उज्यालो नेपाल पार्टीबाट नभई अर्कै टिमबाट सिफारिस भएका व्यक्ति भएको बताएका छन्। त्यसैगरी, समानुपातिक सूचीमा रहेका र आफ्नो ‘ससुरा’ भनेर प्रचार गरिएका व्यक्ति पनि आफ्ना वास्तविक ससुरा नभएको उनको भनाइ छ।

उनका अनुसार समानुपातिक उम्मेदवारको सूची कुनै व्यक्ति विशेषको चाहना, दबाब वा हस्तक्षेपमा नभई पार्टीको विधि, मापदण्ड र सामूहिक निर्णय प्रक्रियाअनुसार तयार गरिएको हो। सार्वजनिक जीवनमा प्रवेश गरेदेखि नै आफू नातावाद, कृपावाद र स्वार्थको राजनीतिविरुद्ध निरन्तर उभिँदै आएको उल्लेख गर्दै उनले इमानदार यात्रालाई कमजोर पार्ने उद्देश्यले तथ्य नबुझी फैलाइने यस्ता आरोपहरू दुःखद रहेको बताएका छन्।

“राजनीतिमा असहमति हुन सक्छ, तर झूट र भ्रम फैलाएर कसैको बदनाम गराउने प्रयास आपत्तिजनक छ,” मन्त्री घिसिङले स्पष्ट पारेका छन्।

उनले बन्दसूचीमा देखिएका प्राविधिक त्रुटिहरू निर्वाचन आयोगले तोकेको समयसीमाभित्र सच्याइने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। साथै, आफू आज पनि पारदर्शिता, इमानदारी र जनताप्रतिको जवाफदेहितामा दृढ रहेको उल्लेख गर्दै यस्ता भ्रामक समाचार र टिकाटिप्पणीको भ्रममा नपर्न सबैलाई आग्रह गरेका छन्।