काठमाडौं । निर्वाचनको सुरक्षाबारे संघीय सरकारका गृहमन्त्री ओमप्रकाश अर्याल र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीबीच मतभेद देखिएको छ। गृह मन्त्रालय र कोशी प्रदेश सरकारअन्तर्गत आन्तरिक मामिला मन्त्रालयको संयुक्त आयोजनामा विराटनगरमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्री र मुख्यमन्त्रीले निर्वाचनबारे परस्पर विरोधी धारणा राखेका हुन्। गृहमन्त्री अर्यालले सुरक्षा अवस्था सुदृढ भएकाले निर्वाचन तोकिएकै समयमा हुने दाबी गरे ।
तर कार्कीले अहिलेकै अवस्थामा निर्वाचन भए देश अर्को द्वन्द्वमा फस्ने चेतावनी दिए । अर्यालले देशको सुरक्षा अवस्था क्रमशः सुदृढ हुँदै गएको बताए। उ निर्वाचन घोषणा भइसकेपछि सबै प्रक्रिया तोकिएको निर्वाचन तालिकाअनुसार अघि बढिरहेको र सबै राजनीतिक दलबाट समेत निर्धारित समयमा निर्वाचनमा सहभागी हुने प्रतिबद्धता आइसकेको गृहमन्त्री अर्यालको दाबी थियो । मुख्यमन्त्री कार्कीले भने सुरक्षा चुनौती कायम रहेकाले निर्वाचन वातावरण नबनेको ठोकुवा गरे ।
उनले निर्वाचनका लागि आवश्यक सुरक्षा वातावरण अझै नबनेको जिकिर गरेका हुन् । उनले मुलुकमा कानूनीराज तोडिएको तथा शान्ति व्यवस्था अझै नाजुक रहेको भन्दै हतारमा चुनाव गरिए देश अर्को मुठभेडतर्फ जानसक्ने चेतावनी दिए। उनले जेनजी आन्दोलनका क्रममा प्रहरीका कार्यालय जलाइएको, हतियार लुटिएको र सवारीसाधन ध्वस्त बनाइएकाले प्रहरीको मनोबल अझै पूर्ण रूपमा उठ्न नसकेको दाबी गरे । यसले पनि तोकिएको मितिमै चुनाव हुनेमा आशंका देखिन्छ ।














प्रतिक्रिया