काठमाडौं । हजारौँ नेपाली विद्यार्थीको भविष्य अन्योलमा पार्ने गतिविधिमा संलग्न रहेको आरोप खेप्दै आएको ब्रिटिस कलेजले समाचार संकलनका लागि पुगेका पत्रकारलाई नै बन्दक बनाएको गम्भीर घटना सार्वजनिक भएको छ। शैक्षिक माफियाको चरम रूप देखिएको यो घटनाले नेपालमा प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ।
विद्यार्थी र अभिभावकबाट ठगी, शैक्षिक प्रमाणपत्र, भिसा प्रक्रिया र कलेजको वैधानिकतासम्बन्धी उजुरीहरू बढ्दै गएपछि ती विषयमा सत्यतथ्य बुझ्न पुगेका पत्रकारलाई कलेज प्रशासनले कार्यालयभित्रै थुनेर मानसिक दबाब दिएको आरोप छ। रिपोर्टिङ गर्न नदिन मोबाइल खोस्ने, भिडियो खिच्न रोक लगाउने र बाहिर ननिस्कन धम्की दिने जस्ता क्रियाकलाप गरिएको प्रत्यक्षदर्शीहरूको भनाइ छ।
पत्रकारले विद्यार्थीहरूको गुनासो, कलेजको कानुनी हैसियत र प्रशासनको जवाफ लिन खोज्दा कलेज प्रशासन आक्रोशित बनेको र पत्रकारलाई “समाचार नबनाए मात्र छोड्ने” जस्तो अमानवीय व्यवहार गरिएको बताइएको छ। यस घटनाले शिक्षाको नाममा व्यापार गर्ने संस्थाहरू कति हदसम्म गैरजिम्मेवार र निरंकुश बनेका छन् भन्ने स्पष्ट देखाएको छ।
नेपाल पत्रकार महासंघ, मानवअधिकारकर्मी तथा विभिन्न सञ्चारमाध्यमहरूले घटनाको कडा निन्दा गर्दै दोषीमाथि तत्काल कानुनी कारबाहीको माग गरेका छन्। उनीहरूले पत्रकारलाई बन्दक बनाउनु आपराधिक कार्य भएको र यसले लोकतन्त्रको मेरुदण्ड मानिने प्रेस स्वतन्त्रतामाथि ठाडो हमला भएको बताएका छन्।
उता, विद्यार्थी र अभिभावकहरू भने वर्षौंदेखि संकलित रकम, समय र सपनाको हिसाब मागिरहेका छन्। “हामी पढाइको नाममा फसाइयौँ, अब न यहाँ भविष्य छ, न विदेश जाने बाटो,” एक पीडित विद्यार्थीले आक्रोश व्यक्त गरे।
यस घटनाले सम्बन्धित निकाय—शिक्षा मन्त्रालय, प्रहरी प्रशासन र उपभोक्ता संरक्षण निकाय—मौन बस्न मिल्दैन भन्ने सन्देश दिएको छ। दोषी कलेज प्रशासनमाथि छानबिन र कारबाही नगरे हजारौँ विद्यार्थीको भविष्य अझै अन्धकारमा धकेलिने निश्चित देखिन्छ














प्रतिक्रिया