काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड पनि छानबिनको दायरामा परेका छन् । भदौ २३ र २४ को जेनजी आन्दोलनमाथि छानविन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्रीद्वय देउवा र प्रचण्डसँग पनि सोधपुछ गर्न लागेको छ ।
आयोगले दुवै पूर्वप्रधानमन्त्रीलाई छुट्टाछुट्टै प्रश्नको सूची पठाएर लिखित जवाफ मागेको हो । स्रोतका अनुसार देउवा र प्रचण्डको सम्पर्क कार्यालयमा आयोगको प्रश्नपत्र पुगिसकेको छ ।
यथाशीघ्र लिखित जवाफ दिन भनिएको पत्रमा भदौ २३ र २४ गते देउवा र प्रचण्डको कहाँ कहाँ सम्पर्क भयो भन्नेबारे सोधिएको बुझिएको छ । भदौ २४ गते देशभरि नै प्रदर्शन हुँदा विभिन्न भौतिक सम्पत्तिमाथि आगजनी तथा तोडफोड भएको थियो। भीड अनियन्त्रित भइसक्दा देउवा आफ्नै बूढानिलकण्ठस्थित निवासमा थिए।
सुरक्षाका लागि खटिएका प्रहरीहरूलाई पनि छिचोल्दै प्रदर्शनकारी उनको घर पसेको थियो। त्यसक्रममा प्रदर्शनकारीले देउवा र उनकी श्रीमती आरजु राणामाथि समेत कुटपिट गरेको थियो। पछि नेपाली सेनाले दुवै जनाको उद्धार गरेको थियो। प्रचण्ड प्रदर्शन हुँदा सिंहदरबारभित्र थिए।
सेनाले उनलाई पनि उद्धार गरेको थियो। दुवै नेताहरूको घरमा आगजनी तथा तोडफोड भएको थियो। आयोगले अब तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई बयान लिने तयारी गरिरहेको छ। आयोगमा बयान दिन नजाने र प्रतिवेदन पनि नमान्ने चुनौती दिँदै आएका उनलाई बयानमा उपस्थित हुन आग्रह गर्दै पत्र काट्न लागेको बताइएको छ ।














प्रतिक्रिया