एमालेले प्रचण्डको निर्वाचन क्षेत्र गोरखा–२ बाट ‘डन’ चक्रे मिलनलाई उठाउने


काठमार्डौंं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि एमालेले गोरखा–२ मा मिलन गुरुङ (चक्रे मिलन)सहित तीनजनाको नाम सिफारिस गरेको छ । गोरखा–२ तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विजयी भएको निर्वाचन क्षेत्र हो ।

तर अहिले उनी सोही निर्वाचन क्षेत्रबाट नउठ्ने भएका छन् । शनिबार बसेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय समितिको बैठकले गुरुङसहित तीनजनाको नाम सिफारिस गरेको एमाले जिल्ला सचिव काजिराम रोकाले बताए । गोरखा–२ मा मिलन गुरुङ, बाबुराम थापा र शशिकला पोखरेलको नाम सिफारिस गरिएको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय समितिले निर्णय गरेको नाम जिल्ला कमिटीले रायसहित प्रदेश कमिटीमा सिफारिस गर्ने उनले बताए ।

गोरखा–२ मा विगतमा बाबुराम भट्टराईले जित्दै आएका थिए । तर अघिल्लो निर्वाचनमा उनले छोरी मानुषी भट्टराईसँग निर्वाचन क्षेत्र साँटे । मानुषीलाई काठमाडौं–७ बाट उठाई प्रचण्डलाई गोरखा–२ दिने बाबुरामले सहमति गरे । प्रचण्ड विजयी भए । मानुषी पराजित भइन् । फागुनमा हुने निर्वाचनमा प्रगतिशील लोकतान्त्रिक पार्टीले बाबुरामलाई गोरखा–२ बाटै सिफारिस गरेको छ ।