बाबुराम फर्किएलगत्तै प्रचण्ड भारत जाँदै


काठमाडौं । निर्वाचन नजिकिएसँगै पूर्वप्रधानमन्त्रीहरूको भारत भ्रमण बाक्लिएको छ । केही दिनअघि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई भारत भ्रमण गरेर फर्किएका थिए । उनी त्यहाँ विभिन्न राजनीतिक गतिविधिमा सहभागी भएर फर्किएका थिए । तर भारतका उच्चपदस्थसँगको भेटवार्ताबारे केही सार्वजनिक गरिएन ।

आइतबार नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड भारत जाँदैछन् । पूर्वप्रधानमन्त्रीको हैसियतमा राजनीतिमा सक्रिय प्रचण्ड सोमबार नयाँ दिल्लीमा हुने प्रवास कमिटीको सन्देश सभालाई सम्बोधन गर्न जान लागेका हुन् । भारतमा बसोबास गर्दै आएका नेपाली समुदायबीच आपसी सद्भाव,सहकार्य र साझा भविष्यप्रतिको प्रतिबद्धता सुदृढ गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजक नेपाली समाज भारतले जनाएको छ ।

प्रचण्डले नेपाली समुदायका साझा सरोकार, नेपाल–भारत सम्बन्ध,प्रवासी नेपालीका समस्या र अवसर,एकता र सहकार्यको महत्वबारे प्रवचन दिने बुझिएको छ । कार्यक्रम सोमबार दिउँसो १ बजे नयाँ दिल्लीको लाजपत भवन अडिटोरियममा हुँदैछ । जेनजी आन्दोलनपछि प्रचण्ड पहिलो विदेश भ्रमणमा जान लागेका हुन् । जेनजी आन्दोलनमा जलेर घाइते भएकी श्रीमती रविलक्ष्मी चित्रकारको उपचारका क्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनाल नयाँ दिल्ली पुगेका थिए ।

उनले राजनीतिक भेटवार्ता भने गरेनन् । तर प्रचण्डले भने सत्तारुढ भारतीय जनता पार्टीका केही शीर्ष नेतासँग भेटवार्ता गर्ने बुझिएको छ । केही दिनअघि मात्रै पूर्वराजा ज्ञानेन्द्र शाह नयाँ दिल्ली पुगेर फर्किएका थिए । उनको भेटवार्ता अत्यन्त गोप्य राखिएको छ । हाल झापामा सपरिवार बस्दै आएका शाह सिलगुढी हुँदै नयाँ दिल्ली पुगेका थिए ।