कांग्रेसका २५ केन्द्रीय सदस्यले देउवालाई भने– तुरुन्त एकता कायम गरियोस्


काठमाडौं । नेपाली कांग्रेसका २५ केन्द्रीय सदस्यले विशेष महाधिवेशनको मागलाई सम्बोधन गर्न सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् । शुक्रबार विज्ञप्तिमार्फत उनीहरूले प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसलाई जनताको विश्वसनीय र थप भरोसायोग्य पार्टी बनाउन जरुरी रहेको बताएका हुन् । सबैजना संस्थापन निकट नेताहरू हुन् ।

‘नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गरी लिखित निवेदन दर्ता गरिसकेको अवस्था छ । अतस् माग गर्ने प्रतिनिधिहरूको मतको सम्मान गर्दै आगामी निर्वाचनलाई मध्यनजर गरी नयाँ ऊर्जा र सोचका साथ निर्वाचनमा होमिन संवाद र सहमति गरी बृहत एकताबद्ध भई कांग्रेसको पक्षमा परिणाममुखी वातावरण निर्माण गर्न नेतृत्व तहलाई हार्दिक अपिल गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

उनीहरूले परिवर्तन र रूपान्तरणका मुद्दालाई अंगाल्दै नयाँ सोच र दृष्टिकोणका साथ निर्वाचनमा जानुपर्ने अवस्था रहेको स्मरण गराएका छन् । २५ जनाको यो समूह १५ औं महाधिवेशनको कार्यतालिकाबारे बहस चलिरहेका बेला निर्वाचनअगावै हुनुपर्ने पक्षमा उभिएको थियो ।

यो समूहले यसअघि निर्वाचनअगावै नियमित महाधिवेशन हुनुपर्ने ‘लबिङ’ गरेको समूहले २२ पुसमा नेता डा. शेखर कोइरालासँग छलफल गरेको थियो । सो समूहले त्यसअघि १८ पुसमा सभापति र देउवालाई भेटेको थियो । सोही दिन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग पनि छलफल गरेको थियो ।

यसरी माग गर्नेमा राजेन्द्रकुमार केसी, उदयशमशेर राणा, डिला संग्रौला, नानु बास्तोला, देवेन्द्रराज कँडेल, अर्जुन जोशीलगायतका नेता छन् ।