कांग्रेसलाई जेनजी भावना राउतको सन्देश– लोकतन्त्र, प्रश्न गर्ने साहस र नागरिक चेतनाको जित होस्


नेपाली कांग्रेसभित्र आज देखिएको गतिविधि केवल एउटा कार्यक्रम वा भाषणमा सीमित छैनस यो पार्टीको आन्तरिक लोकतन्त्रबारे उठेको गम्भीर प्रश्न र सम्भावनाको संकेत हो।

राजनीतिक रूपमा हेर्दा कांग्रेसले सुध्रिनु देशको लोकतान्त्रिक स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय हो। किनकि लोकतन्त्र चलाउन, कम्तीमा एउटा दलले त आफ्नै संरचनाभित्र लोकतान्त्रिक अभ्यास गर्न सक्नुपर्छ। यस सन्दर्भमा गगन थापा र विश्वप्रकाश शर्माले प्रतिनिधित्व गरेको धार बिद्रोह होइन, आन्तरिक जवाफदेहिता हो।

पार्टीभित्र प्रश्न उठाउनु, नेतृत्वलाई उत्तरदायी बनाउनु, र असहमतिको सम्मान गर्नु अनुशासनहीनता होइन, यो लोकतान्त्रिक दलको न्यूनतम मापदण्ड हो। लोकतन्त्र बाहिर भाषणमा होइन, भित्र अभ्यासमा देखिनुपर्छ। जब नेतृत्व प्रश्नबाट असहज हुन्छ र आलोचनात्मक आवाजलाई दबाउन शक्ति प्रयोग गर्छ, त्यही क्षण परिवर्तनको आवश्यकता झन स्पष्ट हुन्छ। इतिहासले देखाएको छ, सत्ता सधैँ प्रश्नसँग डराउँछ, तर लोकतन्त्र प्रश्नबाटै बलियो बन्छ।

प्रश्न दबाउने संस्कृतिले दललाई जोगाउँदैनस उसलाई क्रमशः खोक्रो बनाउँछ। आजको घटनाक्रमलाई अन्तिम जितको रूपमा बुझ्नु हतार हुनेछ। तर यसलाई चेतावनी र संकेतका रूपमा लिन सकिन्छ, दलहरू भित्रै नसुन्ने बानीले कमजोर हुन्छन्। आन्तरिक बहस, असहमति र आत्मालोचना जोगिन सकेन भने कुनै पनि पार्टी दीर्घकालीन रूपमा जनप्रतिनिधि रहन सक्दैन।

आज मनमा आशा जाग्नु मै सबै समस्या समाधान भयो भन्ने होइन, तर कसैले संस्थाभित्र उभिएर बोल्ने राजनीतिक साहस देखायो भन्ने हो। यदि यही साहस टिकिरह्यो, यही अभ्यास संस्थागत भयो भने, यो नेपाली कांग्रेसका लागि मात्र होइन, देशकै राजनीतिक संस्कारका लागि पनि नयाँ सुरुवात हुन सक्छ।