मेयरबाट राजीनामा दिएर बालेन रास्वपा पार्टी कार्यालयमा


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले पदबाट राजीनामा दिएका छन् । उनले आइतबार दिउँसो उपप्रमुख सुनिता डंगोललाई राजीनामा बुझाएका हुन् ।

फागुन २१ मा हुने प्रतिनिधिसभा चुनावमा उम्मेदवार बन्न बालेनले राजीनामा दिएका हुन् । उनले आज राजीनामा दिने निर्धारित तालिका रहे पनि पछि होल्डमा राखिएको थियो । तर बाँकी चुनावी तयारीमा आफूलाई केन्द्रीत गराउन उनले आजै राजीनामा दिएको बताइन्छ ।

‘मेयरज्यूले राजीनामा दिइसक्नु भएको छ, बिहानसम्म त आज नदिने कि भन्ने थियो, तर चुनावमा केन्द्रित हुन आजै दिँदा सजिलो हुने भएकोले राजीनामा दिनुभयो,’ बालेन सचिवालयका एक सदस्यले भने, ‘रास्वपाको बैठकमा जानुअघि उहाँले राजीनामा दिनुभएको हो ।’

उपमेयर डंगोललाई राजीनामा बुझाएर बालेन रास्वपा पार्टी कार्यालय पुगेका छन् । उनी रास्वपाको केन्द्रीय समिति बैठकमा सहभागी हुनेछन् । यो उनको पहिलो दलीय बैठक हुनेछ । उनी आजै जनकपुरधाम जाने र सोमबार चुनावी सभामा सहभागी भएर झापा पुग्ने भएका छन् ।

काठमाडौं महानगरका सहप्रवक्ता धुव्र काफ्लेले केही समयअघि मेयरको सचिवालयले उपप्रमुखको कार्यकक्षमा राजीनामा पत्र बुझाएको बताए । ‘संविधानको धारा संविधानको धारा २१६ को उपधारा ८ बमोजिम उपप्रमुखलाई राजीनामा बुझाउनु भएको हो,’ उनले भने, ‘राजीनामा उपप्रमुख ज्यूकोमा दर्ता भएको छ ।’