काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापाले प्रतिनिधिसभा निर्वाचनका लागि आइतबार उम्मेदवार टुंगो लगाइने बताएका छन् ।
आज बिहान सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै थापाले उम्मेदवार छनोटको अन्तिम चरणमा रहेको भन्दै आज दिनभरमा सबै टुंगो लगाउने बताएका हुन् ।
‘आज दिनभरिमा सबै कुरा टुंग्याउँछौं । सकेसम्म यसलाई राम्रो बनाउन बेष्ट कोसिस गर्छौं,’ थापाले भनेका छन् । उनले पार्टीको आधिकारिक टिकट पाउने व्यक्तिलाई सबैले मनमा केही कुरा नराखी सहयोग गर्न पनि अनुरोध गरेका छन् ।
‘त्यो साथीको पक्षमा सबैजना पार्टीका साथीहरू एकढिक्का भएर, मनमा कुनै पनि कुरा नराखीकन, यो एउटा अभियान हो,’ उनले भनेका छन्, ‘यो अभियानमा हामी सबै जुट्नपर्छ भनेर, तपाईंहरू लाग्नुहुन्छ भन्ने विश्वासको साथमा सबैलाई अनुरोध गर्न चाहन्छु । अपिल गर्न चाहन्छु ।
फागुन २१ को निर्वाचनका लागि मंगलबार उम्मेदवार मनोनयनको कार्यतालिका छ । यसका लागि कांग्रेसलाई टिकट दिएर सम्बन्धित क्षेत्रमा उम्मेदवारलाई पठाउन पनि आजै टुंगो लगाउनुपर्ने दबाब छ ।
विवादकैबीच कांग्रेसका तीन गुटका चार नेता गएराति छलफलमा जुटेका छन् । सभापति गगनकुमार थापा समूहबाट मधु आचार्य र देवराज चालिसे, शेरबहादुर देउवा समूहबाट नेता रमेश लेखक र शेखर कोइराला समूहबाट नेता मिनेन्द्र रिजाल छलफलमा सहभागी थिए ।
राति करिब साढे ११ बजे सुरु भएको छलफल राति अबेरसम्म चलेको एक नेताले जानकारी दिए ।
थापा नेतृत्वको कांग्रेसले संसदीय बोर्ड नै गठन गरेर यसअघि सिफारिस भएर आएका उम्मेदवारको नाममाथि छलफल गरिसकेको थियो । त्यसैमा केन्द्रित भएर देउवा र कोइराला समूहका नेताहरु पनि मिसिएर छलफल गरेका हुन् ।












प्रतिक्रिया