तराई मधेश सधैं कांग्रेसको आधार किल्ला, गगन थापा सर्लाही झरेपछि बदलिँदै छ मतदाताको मन


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही ४ बाट उम्मेदवार बनेसँगै नेपाली राजनीतिमा तरंग सिर्जना भएको छ । आफूले लगातार तीनपटक जितेको काठमाडौं ४ हापेर गगन किन मधेशको कोर क्षेत्रमा पुगे ? भन्ने जिज्ञासा धेरैमा उब्जेको छ । नेपाली कांग्रेसका नेता, कार्यकर्तालाई मात्रै होइन, अन्य दल र समर्थक पनि अहिले गगन सर्लाही ४ बाट कसरी विजयी भएर संसद् फर्केलान् भन्ने चासो उत्पन्न हुनु जायज हो ।

नेपाली कांग्रेसलाई शुद्धीकरण गर्न निरन्तर लड्दै आएर विशेष महाधिवेशनमार्फत सभापति बनेका गगनले एक सातामै आफ्नो काम देखाइसकेका छन् । चर्को घेराबन्दीका बाबजुद पनि नवीन कांग्रेस बनाउन सफल गगन सर्लाही ४ बाट निर्वाचित भएर संसद् फर्किने धेरैको विश्वास छ । यतिबेला सामाजिक सञ्जाल र मिडिया झापा ५ पछि सर्लाही ४ केन्द्रित भएका छन् । त्यहाँका ग्राउन्ड रिपोर्ट आउन थालेका छन् । उम्मेदवारहरूको केस स्टडी सुरु भएको छ ।

तराई मधेश सधैं कांग्रेसको आधार किल्ला रहँदै आएको छ । विगतमा ठूल्ठूला कांग्रेस नेता तराई मधेशमा चुनाव उठ्दै आएका छन् । र, जितेर पनि आएका छन् । तत्कालीन कांग्रेस सभापति एवं प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई काठमाडौंले हराउँदा २०५६ सालमा पर्साबाट विजयी भएर आएका थिए । र, फेरि प्रधानमन्त्री बने । २०६३ सालमा जब मधेश आन्दोलन भयो, त्यसबेलादेखि हो कांग्रेसको आधार इलाका कमजोर बनेको । धेरै कांग्रेसका नेता मधेशी जनअधिकार फोरम, तमलोपा गए । कांग्रेसका मधेशबाट प्रतिनिधित्व गर्ने नेताहरूले पार्टी छाडेपछि कांग्रेस कमजोर बनेको हो । कांग्रेस कमजोर बनेपछि मधेश केन्द्रित दल फस्टाएका हुन् । राष्ट्रिय स्तरमा प्रभाव पार्न सक्ने नेताको मधेशमा खडेरी देखियो । त्यही खडेरी चिर्न गगन थापा सर्लाही झरेका हुन् ।

कांग्रेस सभापति त्यसमा पनि भावी प्रधानमन्त्रीको रूपमा हेरिएका गगन थापा आफ्नो निर्वाचन क्षेत्रमा आएपछि सर्लाहीवासी निकै खुसी देखिएका छन् । गगनको उपस्थितिले सर्लाही ४ मात्र होइन, सप्तरी, सिराहा, धनुषादेखि पर्सासम्मको माहोल फेरिने आकलन गर्न थालिएको छ । तराईमा यातायातका साधन सुगम भएकाले एकैदिन गगनले धेरै निर्वाचन क्षेत्रमा सम्बोधन गर्नसक्ने देखिएको छ । कांग्रेससँगै नेपालको राजनीतिको भविष्य नै बदल्न लागिपरेका गगनले आजभोलिदेखि नै निर्वाचन क्षेत्र पुगेर मतदातासँग भेटघाट गर्ने भएका छन् । जसकारण त्यहाँको माहोल फेरिँदै गएको छ । गगन सर्लाही ४ मा उम्मेदवार बनेपछि सधैं धम्क्याउँदै, घुक्र्याउँदै चुनाव जित्दै आएका अमरेशकुमार सिंहको होसहवास उडेको छ । चारपटक सांसद निर्वाचित हुँदा पनि सर्लाही ४ मा विकासको एउटा पनि काम गर्न नसकेका सिंह जित्ने अवस्था नदेखेरै रास्वपा प्रवेश गरेको त्यहाँका मतदाता बताउँछन् ।