बालेन र रविमाथि एकैसाथ प्रचण्डले हमला गर्नुको भित्री रहस्य


काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड समय र परिस्थिति हेरेर भाषण गर्न माहिर मानिन्छन् । पछिल्लो ३० वर्ष नेपालको राजनीति प्रचण्ड वरिपरि नै केन्द्रित रह्यो । माओवादी सशस्त्र द्वन्द्व भनौं वा प्रचण्डको भूमिगत राजनीति सधैं केन्द्रबिन्दुमा रहे । शान्तिपूर्ण मूलधारको राजनीतिमा आएपछि त प्रचण्डले सबैलाई पाखा लगाइदिए । तर जेनजी आन्दोलनपछि भने प्रचण्ड छायाँमा परेका छन् ।

पार्टीकै धेरै नेताले साथ छाडेपछि भुरेटाकुरे नेता, दल र समूह जोडेर आफूलायृ मेवाको रुख जस्तो फुलेको देखाउन खोजे पनि समस्या प्रचण्डमै देख्ने धेरै छन् । माओवादी नाम र विचारधारालाई तिलाञ्जली दिएपछि उनका असली कार्यकर्ता निकै रुष्ट छन् । त्यही भएर अहिले प्रचण्ड आफ्नै भोट बैंक सुरक्षित गर्न सकिरहेका छैनन् ।

यस्तो अवस्थामा रास्वपाका रवि लामिछानेले काठमाडौंका तत्कालीन मेयर बालेन्द्र साह बालेनलाई आफ्नो पार्टीमा भित्र्याएर देश दौडाहा गरेपछि परम्परागत राजनीतिक दल र तिनका ठूला नेताको अस्तित्व नै हाइज्याक भएको छ । बालेनको आँधीले धेरै नेताको राजनीति भविष्य धूलिसात हुने अवस्था सिर्जना भएपछि नेकपा संयोजक प्रचण्ड पनि आत्तिएका छन् । सोही कारण अहिले उनले रवि र बालेनमाथि विदेशी प्रोजेक्सन रहेको सार्वजनिक गरेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्। विचार, सिद्धान्त र त्याग, तपस्या, बलिदानलाई सम्मान गर्ने भन्दा स्टन्ट गरेर पपुलर बन्ने होड चलेको उनको भनाइ छ।

‘अहिले देशमा विचार, सिद्धान्त, राजनीति, त्याग, तपस्या, बलिदानलाई सम्मान गर्ने, त्यसको कदर गर्ने, त्यसको आधारमा समाज निर्माणका निम्ति भ्रष्टाचारविरुद्ध अभियान चलाउने, सामाजिक विभेदका विरुद्ध सामाजिक न्यायको पक्षमा अभियान चलाउने र आर्थिक पछौटेपनविरुद्ध आर्थिक विकासका निम्ति अभियान चलाउने भन्दा पनि स्टन्ट गरेकै भरमा पपुलर हुने र त्यस्तालाई नै प्रमोट गर्न देशी विदेशी शक्तिहरुले ठूलो लगानी गरेको तपाइँ हामीले देखेका छौँ,’ उनले भने।