संसद् पुनःस्थापनाको माग लिएर कांग्रेसका पूर्वसांसद आज सर्वोच्च नजाने


काठमाडौं । नेपाली कांग्रेसका पूर्व सांसदहरू सर्वोच्च अदालत जाने कार्यक्रम स्थगित भएको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको समय नमिलेका कारण बिहीबार सर्वोच्च जाने कांग्रेस नेताहरूको कार्यक्रम स्थगित भएको हो ।

कांग्रेसले सूचना जारी गरेर ‘विशेष कारण’ले कार्यक्रम स्थगित भएको जनाएको छ । ‘डिलेकेसन टोली सर्वोच्च अदालतमा जाने कार्यक्रम तय भएकोमा विशेष कारणले गर्दा उक्त कार्यक्रम स्थगित भएको ब्यहोरा जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ ।

विघटित प्रतिनिधिसभामा पार्टीका प्रमुख सचेतक श्यामकुमार घिमिरे नेतृत्वको टोली बिहान १०ः३० बजे सर्वोच्च जाने कार्यक्रम थियो । कांग्रेसका ६५ पूर्वसांसदहरूले संसद् पुनर्स्थापनाका लागि रिट दायर गरेका छन् । तर, सर्वोच्चले रिटको सुनुवाइ सुरु गरेको छैन ।

संसद् पुनःस्थापनाका लागि धेरै रिट अदालतमा परे पनि त्यसबारे केही नभएको भन्दै कांग्रेसका देउवा पक्षीय पूर्वसांसदहरू आक्रोशित बनेका थिए । कांग्रेस पूर्वसचेतक घिमिरेले सर्वोच्च यसबारे अनभिज्ञ बन्न नहुने बताएका थिए ।