गगनको पक्षमा खुल्न थाले शेखर पक्षीय नेता, बडूले गरे प्रशंसा


काठमाडौं । विशेष महाधिवेशनबाट पार्टी सभापति बनेका गगन थापालाई तत्कालीन सभापति शेरबहादुर देउवा पक्षले खुलेर बधाई दिन सकेको छैन । नेता शेखर कोइरालाले पनि अहिलेसम्म भेटेर बधाई दिएका छैनन् । बरु उनी सभापति थापाको हस्ताक्षर भएको टिकट लिएर मोरङ ६ मा चुनाव लड्न पुगेका छन् ।

देउवा पक्षका धेरै नेताले टिकट पाएका छन् । तर टिकट नपाएर पनि शेखर पक्षका नेता दिलेन्द्रप्रसाद बडू सभापति थापाको पक्षमा उभिएका छन् । उनले पार्टीका सभापति गगन थापा नेतृत्वमा १६५ निर्वाचन क्षेत्रमा होमिएका कांग्रेस उम्मेदवारलाई जितको शुभकामना दिएका छन् ।

बडूले पार्टीले विगतमा गरे भएका सबै गल्ती र कमजोरीको सभापति थापाले आत्मालोचनासहित क्षमायाचना गरिसकेकाले अब पार्टीको पुस्तान्तरणबाटै देशको विकास हुने बताएका छन् । ‘दोस्रो विशेष महाधिवेशनबाट निर्विरोध निर्वाचित नेपाली कांग्रेसका वर्तमान सभापति गगनकुमार थापाको नेतृत्वमा १६५ वटै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धामा रहेका कांग्रेसका सम्पुर्ण उम्मेदवारहरुलाई बधाईका साथै सानदार विजयको हार्दिक शुभकामना ।

लोकतन्त्रमा (लोक) जनता नै जनार्दन हुन्छन् भन्ने मान्यतालाई आत्मसात गर्दै पार्टीका तर्फबाट आदरणीय सभापतिले विगतमा आफूलगायत पार्टी नेतृत्वगणबाट जानीनजानी भए गरेका गल्तीहरुका लागि आत्मालोचनासहित जनतासामु सार्वजनिक रुपमै निसंकोच क्षमायाचना गर्नुभएको सर्वविदितै छ । जुन सर्वथा सकारात्मक छ,’ बडूले भनेका छन् ।

सभापति थापाको नेतृत्वमा कांग्रेसको बदल्यौ कांग्रेस, बदल्छौ देश भन्ने अभियानमा नेपाली जनताको आशिर्वाद प्राप्त हुने उनले विश्वास पनि लिएका छन् । ‘नेतृत्ववाट पार्टीमा आन्तरिक सुधार, पुस्तान्तरण र रुपान्तरणको स्पष्ट प्रतिबद्धतासहित नेपाली कांग्रेसवाट चुनावी प्रतिस्पर्धामा रहेका १६५ क्षेत्रका सम्पूर्ण उम्मेदवारहरुलाई समस्त आदरणीय जनता जनार्दनबाट प्राप्त हुने विजयको आशिर्वादसहित आफ्नो अमूल्य मतदान बाट मात्र कांग्रेस आगामी संसदमा स्पष्ट बहुमतका साथ सबैभन्दा ठूलो दल बन्न सम्भव छ।

यसरी मात्र जोखिममा परेको देशको संविधान, लोकतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षा, सुशासन, कानूनी राज्य तथा समुन्नत नेपालको सपना साकार हुने अवस्था पनि शुनिश्चित हुनेछ,’ बडूले भनेका छन् । उनले पार्टीका उम्मेदवारलाई भोट दिन पनि अपिल गरेका छन् । यसपटक बडूले चुनाव नलड्ने घोषणा गरेका थिए ।