काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह बालेनले पहिलोपटक सहिद दिवसका अवसरमा सन्देश दिएका छन् । हाल सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा चुनावी प्रचार अभियानमा रहेका बालेनले शुक्रबार सामाजिक सञ्जालमार्फत फेरि कसैले सहिद बन्नु नपरोस् भन्ने सन्देश दिएका छन् ।
बालेनले ८५ वर्षअघि राणा शासनविरुद्ध सङ्घर्ष गर्दै क्रूर हत्याको सिकार भएका सहिद गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीको सम्झना गर्दै सहिदका सपना पूरा गर्न प्रतिबद्धता व्यक्त गरेका छन् । उनले गत भदौको जेनजी आन्दोलनलाई पनि जोड्दै भनेका छन्, ‘८५ वर्ष पहिलेजस्तै, यसपालि पनि भदौको जेनजी आन्दोलनमा सुशासन र भ्रष्टाचार अन्त्यको माग राखेर शान्तिपूर्ण आन्दोलनमा उत्रिएका युवा र विद्यार्थीले आफ्नो अमूल्य जीवन बलिदान दिनुपर्यो ।
अहिले हामी ती सहिदका सपना पूरा गर्ने बाटोमा अघि बढिरहेका छौँ ।’ जेनजी आन्दोलन हुँदा बालेन काठमाडौंका मेयर थिए । तर उनी न सहिदको अन्त्येष्टिमा गए । न परिवारलाई भेटे । एकपटक पनि कुनै सन्देश दिएनन् । घाइतेलाई पनि अहिलेसम्म भेटेका छैनन् ।
तर रास्वपाले प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेपछि बालेनले आफूलाई नेताका रूपमा उभ्याएर सहिदको योगदानको चर्चा गरेका छन् । ‘राज्यका निकायहरूमा भएको चरम दलीयकरणको अन्त्य गर्दै राज्यलाई जवाफदेही र पारदर्शी बनाउनुपर्ने दायित्व हामीसँग छ । यी सहिदहरूको बलिदानीलाई बेवास्ता गर्ने छुट अब हामी कसैलाई छैन ।
अब समय आएको छ सहिदका रगतलाई सम्मान गर्दै उहाँहरूको सपना पुरा गर्ने । सुशासनयुक्त, भ्रष्टाचारमुक्त देश बनाउने । यस पटकको सहिद दिवस सम्पूर्ण ज्ञात अज्ञात सहिदहरूको स्मरण गर्दै उहाँहरूको बलिदानीलाई सार्थक पार्न मन, बचन र कर्मले प्रतिबद्ध भएर लाग्ने समय हो । फेरी कसैले सहिद बन्नु नपरोस्,’ उनले भनेका छन् ।












प्रतिक्रिया