पूर्वराजा शाहले निर्वाचन ‘हाइज्याक’ गर्न खोजेपछि राप्रपालाई धर्मसंकट


काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले दुर्गा प्रसाईको लहलहैमा लागेर निर्वाचन हाइज्याक गर्न खोजेपछि राप्रपा धर्मसंकटमा परेको छ । प्रजातन्त्र दिवसको अवसरमा बुधबार पूर्वराजा शाहले दिएको भिडियो सन्देशलाई लिएर अहिले विभिन्न टीकाटिप्पणी र प्रतिक्रिया आउने क्रम जारी छ ।

शाहले हिजोको सम्बोधनमा चुनावअघि राजतन्त्रको विषयमा निर्णय गर्न अनुरोध गरेका छन्। उनले चुनाव भए विभिन्न संकट आउने चेतावनी पनि दिएका छन् । देशकै अस्तित्वको संकट देखाएर भयको राजनीति गर्ने ज्ञानेन्द्र प्रवृत्ति लोकतन्त्रका लागि घातक रहेको भन्दै उनको आलोचना हुन थालेको छ । शाहको अभिव्यक्तिले मुलुकको राजनीतिक स्थायित्वभन्दा उनको पुनर्पदप्राप्ति नै रणनीतिक चाहना रहेको विश्लेषण भइरहेको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहले चुनाव स्थगनको प्रस्ताव राखेपछि रास्ट्रिय प्रजातन्त्र पार्टीले अब चुनाब बहिस्कार गर्छ कि पू्रर्वराजा भन्ने चासो देखिएको छ ।

पूर्वराजा शाहले २१ फागुनका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनविरोधी शक्ति र आवाजहरूको स्वामित्व लिँदै त्यसअघि राष्ट्रिय सहमति र समझदारीमा जोड दिएका छन् । उनले अहिलेको निर्वाचनले निकास नभई द्वन्द्व, अशान्ति र खिचातानी ल्याउन सक्ने दाबी गरेका छन् ।

‘प्रजातान्त्रिक प्रणालीमा प्रतिनिधि छनोटको आवधिक निर्वाचन एक स्वाभाविक प्रक्रिया भए तापनि यतिखेरको आमजनभावना यो छ कि मुलुकमा पहिले राष्ट्रिय समस्याको समाधान गरेर मात्र आसन्न निर्वाचन प्रक्रियातर्फ जानु उचित हुन्छ,’ उनले भनेका छन्, ‘निर्वाचनपछि कुनै द्वन्द्व, अशान्ति र खिचातानी नहोस् भन्ने विषयलाई ध्यानमा राखेर राष्ट्रिय सहमति र सबैलाई समेटेर जाने समझदारी बनाएर मात्र निर्वाचनमा जाँदा नै त्यसले सही बाटो समात्ने थियो ।’

मेडिकल व्यवसायी दुर्गा प्रसाईं निर्वाचन बिथोल्ने गतिविधि गरेकोमा प्रहरी हिरासतमा छन् । पूर्वराजा शाहलाई समर्थन गर्दै आएका कम्युनिस्ट नेताहरू ऋषि कट्टेल र धर्मेन्द्र बाँस्तोलालाई पनि प्रहरीले पक्राउ गरेको छ । यही सन्दर्भमा पूर्वराजा शाहले पनि निर्वाचनको विपक्षमा आफूलाई प्रस्तुत गरेका छन् ।

पूर्वराजा शाहले प्रजातन्त्रमा राज्य व्यवस्था र प्रक्रिया संवैधानिक मान्यताअनुरूप चल्नु उपयुक्त हुने धारणा व्यक्त गरेका छन् । देश अहिले संकटमा परेको दाबी गर्दै उनले विगतका आन्दोलन र परिवर्तनको समीक्षा गर्नुपर्ने पनि उनले माग गरेका छन् ।

‘सिंगै मुलुक यतिवेला अस्वाभाविक छटपटीको भुमरीमा फसेको छ । देशको अस्मिता र अस्तित्व नै संकटमा परेको महसुस हरेक देशभक्त नेपालीले गरिरहेका छन्,’ उनले भनेका छन्, विगतमा अनेकौँ नाममा आन्दोलन र संघर्ष भए । संघर्षको आडमा परिवर्तन पनि गरिए । सबै प्रकारका परिवर्तनले नेपाल र नेपालीलाई के दियो भन्ने आत्मसमीक्षा गर्नुपर्ने वेला आएको छ ।’