सरकारको निर्णय धोती लगाउँदै रवि र कुलमान, सनरुफ गाडी चढेर भोट माग्दै


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले निर्वाचन आचारसंहिताविपरीत सनरुफ गाडीमा चढेर मत माग्न थालेका छन् ।

केही दिनअघि सरकारले निर्वाचन प्रचारमा उम्मेदवारले सनरूफ (छतबाट टाउको निकाल्न मिल्ने गाडी) प्रयोग गर्न नपाउने निर्णय गरेको थियो । गत बिहीबार गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समिति, केन्द्रीय कमान्ड पोस्ट, जिल्ला सुरक्षा समितिका प्रमुखहरूको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

उम्मेदवारको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सनरूफ गाडी प्रयोग गर्न नदिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ । चुनावी प्रचारका क्रममा विभिन्न दलका उम्मेदवारले यस्ता गाडी प्रयोग गर्दै आएका थिए ।

खासगरी रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साह बालेन यसमा अगाडि थिए । उनीहरूले गाडीको छतबाट टाउको निकालेर हात हल्लाउने, मतदातासँग हात मिलाउनेलगायतका गतिविधि गर्ने गरेका थिए । यसले उम्मेदवारको सुरक्षा जोखिम बढाउने भन्दै गृहले रोक लगाएको हो ।

तर सरकारको सो निर्णय रवि र कुलमानको हकमा लागू नहुने भएको छ । बालेनले भने अहिले त्यस्तो गाडी प्रयोग गरेका छैनन् । आइतबार चितवन २ मा घरदैलो गर्दा रविले सनरुफ गाडी प्रयोग गरेका थिए । उनी मतदातासँग भेट्न जाँदा र कुराकानी गर्दा सनरुफ गाडीमा बसेको देखिन्छ ।

यस्तै, काठमाडौं ३ बाट उम्मेदवार बनेका कुलमानले पनि बीएमडब्लु गाडीको छत निकालेर भोट माग्दै हिँडेका छन् । रवि र कुलमान दुवै मन्त्री भइसकेका व्यक्ति हुन् । तर अहिले दुवैजना सरकारकै निर्णय लत्याउँदै हिँडेपछि उनीहरूको आलोचना भइरहेको छ ।