काठमाडौं – केही दिनयता नेपाली कांग्रेसमा विभिन्न पार्टीका नेता कार्यकर्ता प्रवेश गर्नेको लहर चलेको छ । फागुन २१ को निर्वाचनको पूर्वसन्ध्यामा अन्य दलका प्रभावशाली नेताहरूको कांग्रेस प्रवेश गर्ने क्रम तीव्र बनेको हो । विशेष महाधिवेशनमार्फत गगन थापा पार्टी सभापति चुनिएपछि कांग्रेसप्रति आकर्षण बढेको भन्दै विभिन्न दलका ६ हजारभन्दा बढी नेता–कार्यकर्ता कांग्रेस प्रवेश गरेका छन् ।
कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार थापाको नेतृत्वपछि पार्टीमा नयाँ ऊर्जा देखिएको छ । रास्वपा, एमाले, जसपा, लोसपालगायतका दलबाट ६२ सय जति नेताहरूले सदस्यता लिएका छन्, जसमा सयभन्दा बढी केन्द्रीयस्तरकै नेताहरू छन् ।
कांग्रेस प्रवेश गर्नेहरूमा सबैभन्दा ठुलो संख्या रास्वपा का नेताहरूको छ । रास्वपा मकवानपुरका संस्थापक सभापति भरतप्रसाद पराजुली सोमबार मात्रै कांग्रेस फर्किए । ०७९ को निर्वाचनमा १२ हजारभन्दा बढी मत ल्याएका पराजुलीले रास्वपालाई खहरे खोला र सैनिक शासनको ढाँचामा चल्ने पार्टीको संज्ञा दिँदै गगन थापाको नेतृत्व र साहसलाई आत्मसात् गर्न कांग्रेस फर्किएको बताएका छन् ।
पराजुलीसँगै मकवानपुर–२ का संघीय सभापति निराजन बर्तौला र युवा नेता राममणि न्यौपानेले पनि रास्वपा त्यागेका छन् । रास्वपाकी मधेश प्रदेश संस्थापक सभापति ममता शर्मा र केन्द्रीय गुनासो विभाग प्रमुख प्रणयशमशेर राणाले पनि पार्टीको विधि र विधानविपरीतका गतिविधि बढेको भन्दै कांग्रेस रोजेका छन् ।
एमालेबाट पनि ठूलो संख्यामा नेताहरू कांग्रेस प्रवेश गरेका छन् । पूर्वमन्त्री रामवीर मानन्धरसहित रसुवाका प्रभावशाली नेता जनार्दन ढकालले एमाले छाडेका छन् । एमालेका पूर्व केन्द्रीय सदस्य समेत रहेका ढकालले पार्टीमा व्यक्तिवाद हाबी भएको र योगदानको अवमूल्यन भएको भन्दै ७८ जना कार्यकर्तासहित कांग्रेस प्रवेश गरेका हुन् । यसले रसुवामा एमालेलाई ठुलो धक्का पुग्ने देखिएको छ ।
लोसपाका महामन्त्री मनिषकुमार मिश्रलगायत दर्जनौं केन्द्रीय नेताहरु कांग्रेस प्रवेश गरेका छन् । चुनावको दिनसम्म कांग्रेस प्रवेश गर्नेको लर्को लाग्ने बताइन्छ।
नवप्रवेशी नेताहरूले कांग्रेसमा देखिएको पुस्तान्तरण र आन्तरिक लोकतन्त्रलाई मुख्य आकर्षणको कारण बताएका छन् । गगन थापा सभापति बनेपछि कांग्रेसले लिएको नयाँ बाटो र सुधारिएको कार्यशैलीले अन्य दलमा निराश भएका नेताहरूलाई आकर्षित गरेको देखिन्छ । निर्वाचनको मुखमा भएको यो दल अदलबदलले विशेषगरी नुवाकोट, रसुवा, काभ्रे, मकवानपुर जस्ता जिल्लाहरूमा चुनावी समीकरणलाई निकै प्रभावित पार्ने अनुमान गरिएको छ ।












प्रतिक्रिया