१५ वर्षदेखिको ‘ठगीको लाइसेन्स’ खोसिने भएपछि त्रासमा अमरेश


काठमाडौँ – चुनावलाई १५ वर्षदेखि ‘ठगीको लाइसेन्स’ बनाएका अमरेशकुमार सिंह तराईको समथर भूगोलजस्तै सरल छैनन्। सर्लाही ४ मा खानेपानीको अभाव, सिँचाइको संकट, जीर्ण सडक, अव्यवस्थित विद्यालय र कलेज जस्ता समस्याबीच यहाँका मतदाता विगत १५ देखि अमरेशको कुशासनबाट पीडित छन्।

सर्लाही–४ यतिवेला राष्ट्रिय राजनीतिका दुई फरक धारबीचको प्रतिस्पर्धाको केन्द्र बनेको छ।

अमरेश जसले पछिल्ला करिब १५ वर्षदेखि यही क्षेत्र प्रतिनिधित्व गर्दै आएका छन्। कांग्रेसबाट दुईपटक र २०७९ मा स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएका उनी अहिले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका छन्। एमाले र माओवादीका पनि आ–आफ्ना उम्मेदवार छन्, तर चुनावी बहसको केन्द्रमा भने कांग्रेस सभापति गगन थापा र सिंह नै देखिन्छन्।

सर्लाही–४ का मतदाताहरूको साझा प्रश्न छ– १५ वर्षमा के बदलियो ? सिंह लगातार सांसद बन्दै आए, तर यहाँका किसान, भूमिहीन र युवाले जीवनस्तरमा ठोस परिवर्तन महसुस गर्न सकिएन ।

स्थानीय उखु किसान भन्छन्, ‘उखुको मूल्य, भुक्तानी, मिलसँगको विवाद—कहिल्यै गम्भीर रूपमा उठेन।’ धान किसानको समस्या पनि उस्तै छ, सिंचाइ, मल, बीउ र बजार व्यवस्थापनजस्ता आधारभूत विषयमा सांसदको पहल कमजोर रह्यो ।

अमरेशको आलोचना गर्नेहरू भन्ने गर्छन: संसदमा आक्रामक अभिव्यक्ति दिएर चर्चा कमाउँछन्, तर आफ्नै निर्वाचन क्षेत्रमा पूर्वाधार, शिक्षा, स्वास्थ्य वा रोजगारी सिर्जनामा कहिल्यै बोल्दैनन्।

१५ वर्षअघि राजनीतिक रूपमा सामान्य हैसियतमा देखिएका सिंह अहिले करोडौँ सम्पत्तिका मालिक बनेका छन् । त्यसैले विपक्षीहरू उनलाई ‘चुनावलाई ठगीको मतदातामाझ उठेको प्रश्न अझै अनुत्तरित छ ।

मधेशीको नाममा राजनीति;

चुनावी सभामा अमरेश मधेश र मधेशी अधिकारको मुद्दा उठाउँछन्। तर स्थानीय बौद्धिक वर्गको तर्क छ—पहिचानको भाषणभन्दा जीवनस्तर सुधारका ठोस कार्यक्रम आवश्यक छन्।

एक स्थानीय शिक्षक भन्छन्, ‘पहिचानको मुद्दा महत्वपूर्ण हो, तर सडक, अस्पताल, रोजगार र कृषिको आधुनिकीकरणबिना भाषणले पेट भरिँदैन।’

यसपटक चुनावी मैदानमा असामान्य गतिविधि देखिएको मतदाताको भनाइ छ। केही स्थानीयले टोल–टोलमा आर्थिक प्रलोभन बाँडिएको दाबी गरेका छन् । चुनाव हार्ने डरले उनमा त्रास बढेको बताइन्छ । त्यसैले अहिले उनले रास्वपाको लोगो लगाउनेलाई पाँच सय र टिसर्ट लगाउनेलाई एक हजार रुपैयाँ बाँड्दै आएको एक स्थानीयले बताए ।

विगतमा कांग्रेस नेता भन्दै पटक–पटक भोट दिएर धोका दिएका अमरेशसँग मतदाता यसपटक विकल्प खोज्ने मनस्थितिमा पुगेका छन्। युवाहरू विशेषगरी परिवर्तनको पक्षमा उभिएको देखिएको छ। गगन थापाको मधेश प्रवेशले प्रतिस्पर्धालाई वैचारिक र राष्ट्रिय बहसको रूप दिएको छ। १५ वर्षको निरन्तर प्रतिनिधित्वलाई छाडेर अब नयाँ नेतृत्वमा गगन थापाप्रति भरोसा मतदातामा देखिएको छ।

सर्लाही–४ को चुनाव अब व्यक्तिको जित–हारभन्दा पनि १५ वर्षको राजनीतिक अभ्यासको मूल्यांकनमा केन्द्रित हुँदैछ। मतदाता सोधिरहेका छन्– सांसद हुनु सेवा हो कि अवसर ? राजनीति विकासका लागि हो कि व्यक्तिगत उकालोका लागि ? फागुन २१ को मतपेटिकाले यी प्रश्नको उत्तर दिनेछ।

उनीसँग कसरी निर्वाचन क्षेत्रको विकास गर्ने, देश कसरी बनाउने, के कस्ता कानुन ल्याउने भन्ने एजेन्डा नै छैन । जतिबेला पनि सर्लाही ४ मा गगन हार्छन्, तेस्रो हुन्छन् भन्दै हिँडेका छन् । तर गगनले भने प्रत्येक मतदाताको घरघर पुगेर आश्वस्त र विश्वस्त पारिरहेका छन् । देश बनाउने, सर्लाही ४ को विकास गर्ने एजेन्डा प्रस्तुत गरिरहेका छन् । यिनै कारणले पनि अहिले अमरेशलाई आफ्नै परिवारका सदस्यले साथ छाडेका छन् । उनका काकी, भतिजा सबै कांग्रेस जिताउने अभियानमा लागेका छन् ।