काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समिति बैठक बुधबार बिहान ११ बजे बस्दैछ । आजै केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि बोलाइएको छ । बैठकमा पदाधिकारी र वरिष्ठ केन्द्रीय सदस्य सहभागी हुने छन्।
बैठकका मुख्य एजेन्डामा पार्टीको क्रियाशील सदस्यता अद्यावधिक र संसदीय दलको नेता चयन छन्। आजको अनुशासन समिति बैठकमा तत्कालीन कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई कारबाहीको विषयमा छलफल हुने बताइएको छ । मंगलबार खड्काले कार्यवाहक सभापतिको हैसियतमा दोस्रोपटक विज्ञप्ति जारी गरेपछि समिति बैठक बोलाइएको हो ।
विशेष महाधिवेशनबाट निर्वाचित भएको सभापति गगन थापाको टिमले निर्वाचन आयोगबाट आधिकारिकता पाए पनि खड्का समूहले समानान्तर गतिविधि गरिरहेको छ । यसै विषयमा निर्णय गर्न अनुशासन समितिको बैठक बस्न लागेको हो । अनुशासन समितिका संयोजक तारामान गुरुङले आजको बैठकले खड्कालाई कारबाही गर्ने संकेत गरेका छन्।
आगामी दिनमा उक्त गतिविधि जारी राखे खड्कालाई स्पष्टीकरण माग्नेदेखि क्रियाशील सदस्यता नवीकरण नगर्नेसम्म चेतावनी दिइएको थियो। खड्काले चैत ३० मा क्रियाशील सदस्यता अद्यावधिक गर्ने अभियानमा प्रश्न उठाउँदै कार्यवाहक सभापतिकै रूपमा विज्ञप्ति जारी गरेका थिए। स्रोतका अनुसार आजको बैठकले स्पष्टीकरण माग्ने भएको छ । अटेरी गरेमा उनको क्रियाशील सदस्यता नवीकरण नहुने भएको छ ।
कांग्रेसले वैशाख १ गतेदेखि सदस्यता अद्यावधिक अभियान सुरु गरेको छ भने वैशाख ४ गते संसदीय दल नेता चयन गर्ने तयारी गरेको छ। निर्वाचन समितिले आज संसदीय दलको नेता चयनका लागि निर्वाचनको कार्यतालिका ल्याउने छ।












प्रतिक्रिया