कार्यवाहक प्रमुख डंगोल र महानिरीक्षक कार्कीबीच भेट, सहरी सुरक्षामा सहकार्य बलियो बनाइने


कार्यवाहक प्रमुख डंगोल र महानिरीक्षक कार्कीबीच भेट, सहरी सुरक्षामा सहकार्य बलियो बनाइने

काठमाडौँ l काठमाडौँ महानगरपालिका र नेपाल प्रहरीबीच सडक तथा सहरी सुरक्षालाई थप प्रभावकारी बनाउने सहमति भएको छ। काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल र प्रहरी महानिरीक्षक दानबहादुर कार्की बीच भएको भेटमा सहकार्यलाई सुदृढ गर्ने विषयमा छलफल गरिएको हो।

भेटमा सडक सुरक्षा, ट्राफिक व्यवस्थापन, अतिक्रमित सार्वजनिक जग्गा संरक्षण, अव्यवस्थित बसोबास व्यवस्थापन तथा “सडक मानवमुक्त काठमाडौँ” अभियानलाई प्रभावकारी बनाउन संयुक्त रूपमा काम गर्ने सहमति भएको छ।

कार्यवाहक प्रमुख डंगोलले महानगर प्रहरी बललाई नेपाल प्रहरीको सहकार्यबाट अझ सशक्त बनाइने बताउँदै नागरिकले प्रत्यक्ष रूपमा परिवर्तन महसुस गर्ने वातावरण सिर्जना गरिने उल्लेख गर्नुभयो।

त्यस्तै, महानिरीक्षक कार्कीले महानगरपालिकालाई आवश्यक सहयोग उपलब्ध गराउन नेपाल प्रहरी तयार रहेको जनाउँदै उपत्यका प्रहरी कार्यालयमार्फत समन्वय अघि बढाइने र फोकल पर्सन समेत तोकिएको जानकारी दिनुभयो।

छलफलमा सूचना प्रविधिको प्रयोगमार्फत सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउने, लागू औषध दुव्र्यसन नियन्त्रण, सार्वजनिक स्थलमा धुमपान तथा मद्यपान नियन्त्रण, पार्किङ व्यवस्थापन, ट्राफिक संकेत सुधार, रात्रि तथा विहानी बस सेवाको सुरक्षा लगायत विषयमा समेत कुराकानी भएको थियो।

उक्त भेटमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं, महानगरका अन्य अधिकारीहरू तथा मानव सेवा आश्रमका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।